हिमनदी विचलनले मुस्ताङको चुम्जुङमा बाढी

असार २७, २०८२

घनश्याम खड्का

Flooding of Chumjung in Mustang by glacial drift

म्याग्दी — उपल्लो मुस्ताङको नेपाल–चीन सीमावर्ती लोमन्थाङको पश्चिम छुआमा पीक (१–४), चुङ्गेन चाङ्मा, घ्युन, मनस्यल र मुस्ताङ हिमाल अवस्थित छन्।

असार २४ गते अचानक बाढी आएको लोमन्थाङ गाउँपालिका–४ चुम्जुङ बस्ती र चुम्जुङ खोलाको शिरमा पर्ने हिमाल भने छुआमा पीक हो । तापक्रम अत्यधिक बढ्दा यही छुआमा पीकबाट झर्ने भिरालो हिमनदी तीव्र र असामान्य गतिमा विचलन (ग्लेसियर सर्ज) भई हिमोढ (मोरिन)हरू बगाउँदा बाढी आएको स्थानीयले ठम्याएका छन्।

हामी (जनप्रतिनिधि, सुरक्षाकर्मीहरू र स्थानीय) बाढीको मुहान खोज्न छुआमा हिमाल नजिकको चुम्जुङ बस्तीसम्म पुग्यौं। बाढीको उद्गमस्थल धेरै टाढा भएकाले र आवश्यक लजिस्टिक सामग्री तत्काल व्यवस्थापन नभएकाले फर्कियौं,' लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले भने, ‘स्थानीय यार्चागुम्बा संकलक तथा चौरी गोठाला, जो हिमाली भूगोलका जानकार छन्, उनीहरूका अनुसार बाढी आएको खोल्साको माथिल्लो क्षेत्रमा कुनै हिमताल छैनन् तर हिमनदी धेरै छन्। घाम धेरै चर्को भएपछि तीमध्ये कुनै हिमनदी पग्लेर तल खस्दा बाढी आएको हो।’

बाढीले लोमन्थाङ गाउँपालिका–१ को भर्च गाउँलाई पालिका केन्द्रसँग जोड्ने मोटर पुल तथा चुम्जुङ खोलाको पानी प्रयोग गरिएको अर्का गाउँ, ढुक गाउँ, भर्चा, न्यानोल र नाम्सुङ गरी पाँचवटा छुट्टाछुट्टै सिँचाइ योजनाको मुहान बगाएको छ।

जलवायु परिवर्तन क्षेत्रमा अनुसन्धानकर्ताहरू हिमनदी छिटो बग्ने प्रक्रियालाई हिमनदी विचलन र हिमनदीले आफ्नो बहावसँगै ल्याएको ढुङ्गा–माटोको थुप्रोलाई हिमोढ भन्ने गर्छन्। तापक्रम बढेपछि हिमनदीको सतह पग्लिएर पानी बन्ने र पानीले हिमनदी छिटो बगाउने गर्छ। हिमनदीमा हुने बरफको पोखरी बन्ने, पानीको धारा बग्ने अवस्थालाई भने सुप्राग्लेसियल भनिन्छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा हिमरेखा माथि सर्दै गएको छ। हिमरेखा माथि सर्नु मात्र होइन, हिमनदी पग्लने क्रम तीव्र भइरहेकाले हिमनदी विचलन हुने, पर्माफ्रष्ट (जमिनमुनिको भित्री तहमा रहेको आइस) फुट्ने र फुट्ने क्रम बढेको छ। मुस्ताङको बाढी पनि जलवायु परिवर्तनकै असर हो।

‘सर्सर्ती हेर्दा त्यस क्षेत्रमा हिमताल नदेखिएकोले मुस्ताङको बाढीको प्रकृति हेर्दा हिमनदी विचलन वा सुप्राग्लेसियल बगाएको हुन सक्छ। किनभने ग्लेसियर भनेको सधैँ ठोस आइस मात्र होइन। हिमनदीको भित्री भाग पानीले खोलेर भिरालो स्थानमा चोइटिएर खस्ने र बाढीका रूपमा बग्ने हुन्छ,’ इसिमोडका जलवायु तथा वातावरण जोखिम विज्ञ डा. अरुणभक्त श्रेष्ठले भने, ‘भोटेकोसीले सबैको ध्यान खिचेकोले मुस्ताङको बाढी ओझेलमा परेको छ। जलवायु र तापवृद्धिको संवेदनशीलताका हिसाबले मुस्ताङको बाढी पनि उस्तै गम्भीर हो।’

लोमन्थाङ गाउँपालिका–२ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङका अनुसार, यही खोल्सामा वि.सं. २०४४ सालमा पनि छोन्हुपदेखि माथि नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमशृङ्खलाको छुआमा पीक फेदीको एउटा हिमताल फुट्दा आएको बाढीले छोसेर नजिकै नाम्सुङमा सयौं रोपनी खेतीयोग्य जमिन पुरेको थियो। सोही बाढी कालीगण्डकी नदीमा मिसिएर पस्दा मुस्ताङसमेत म्याग्दीका दाना, तातोपानी, पोखरेबगर, तिप्ल्याङ हुँदै बेनीको कालीपुल बजार डुवानमा परेको थियो।

विश्व मौसम विज्ञान संगठनले प्रकाशित गरेको सन् २०२४ को जलवायु अवस्था प्रतिवेदन अनुसार, सन् १८५० देखि १९०० सम्मको अवधिलाई आधार मान्दा अहिले पृथ्वीको तापमान १.४ डिग्री सेल्सियसले बढेको छ।

इसिमोडका विज्ञहरूका अनुसार हिन्दुकुश–हिमालय क्षेत्रमा हिमनदीजन्य विपद्का घटना बढेका छन्। सोमबार मात्र नेपालमा हिमनदीजन्य दुईवटा विपद्का घटना दोहोरिएका छन्। हिमनदीभित्र लुकेका वा हिमनदीमाथि बन्ने अस्थायी प्रकृतिका हिमतालहरू विनाशका प्रमुख कारण बन्न थालेका छन्।

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully