बाढीपहिरोले सडकहरू ठप्प, लघुजलविद्युत् केन्द्र बगायो

असार २५, २०८२

प्रकाश बराल

The flash flood blocked the roads, swept away the small hydropower plant

बागलुङ — निरन्तरको वर्षातले कालीगण्डकी करिडोरको दब्ल्याङमा पहिरो जाँदा सडक बगेको छ । सडक बगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

लोकमार्गतर्फ सडक खुलाउने प्रयास भए पनि करिडोरतर्फ तत्काल खोल्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ । विभिन्न स्थानको अवरोधले समस्या परेको बताइएको छ । सडकहरू अवरुद्ध भएपछि स्थानीयले आवतजावत गर्न पाएका छैनन् । काम विशेषले सदरमुकाम आउनुपर्ने ग्रामीण क्षेत्रका बासिन्दा तथा दूध र तरकारी ढुवानीमा समस्या परेको हो ।

बागलुङ नगरपालिका–१० को एक्लेसालमा खसेको पहिरोले करिडोरसहित मालढुंगा–कुश्मीसेरा सडक पनि बगाएको छ । ती स्थानमा सडक खुलाउने प्रयास भए पनि निरन्तर वर्षाका कारण असम्भव भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । करिडोरसँगै मालढुंगा–कुश्मीसेरा सडक पनि बगेकाले दुवै सडक अवरुद्ध भएका छन् । जसका कारण दक्षिण बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका बासिन्दा सदरमुकाम आउन सकेका छैनन् । नियमित ढुवानी हुँदै आएको दूध तथा तरकारी आपूर्तिमा असर परेको स्थानीय व्यवसायी खगेन्द्र पौडेलले जानकारी दिए ।

जैमिनी नगरपालिका–९, पैयुँथन्थापस्थित सराते खोलामा आएको बाढीले स्थानीय लघुजलविद्युत् आयोजना बगाएको छ । विद्युत् गृह बगेसँगै स्थानीयले विद्युत सेवा नपाउँदा फोन तथा अन्य सेवा लिन नसकेको गुनासो गरेका छन् । सराते खोलाको १२ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको विद्युत् गृहसँगै तीनवटा झोलुंगे पुल पनि बगेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

उक्त विद्युत् गृहबाट सेवा लिँदै आएका झन्डै २०० घरमा विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयले फोनसमेत गर्न नसकेको बताएका छन् । शर्माका अनुसार बाढीले स्थानीय टेकबहादुर थापाका दुई वटा गोरु बगाएको, एक दर्जन घर जोखिममा परेका, १० वटा सिँचाइ कुलो बगाएको तथा ९ सय मुरी धान फल्ने खेत बगरमा परिणत भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सडक क्षतविक्षत भएकाले जैमिनीदेखि बरेङ जाने यातायात पनि पूर्ण रूपमा ठप्प भएको छ ।

नगरपालिकाले स्रोतसाधन परिचालन गरी सडक खोल्ने, पीडितलाई राहत दिने लगायतका कार्य गरिरहेको जनाएको छ । पहिरो खस्दा वडा नं. ९ कै पैयुँथन्थापदेखि राङखानीतर्फ जाने ठेउले खोलाका तीनवटा झोलुंगे पुल बगेको वडा अध्यक्ष सन्दीप थापाले जानकारी दिए । बाढीले ताराखोला गाउँपालिका–३, मलेनस्थित माछापालन पोखरी बगाएको छ। साथै, आसपासका खेत बगेका छन् भने केही घर जोखिममा परेका छन्।

गलकोट नगरपालिका–९, भालुपाइलेमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको एक खण्ड अवरुद्ध भएको छ। सो सडक खोल्ने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । त्यसबाहेक ठाउँठाउँमा खसेको पहिरोले सडक अवरुद्ध हुँदा अधिकांश स्थानमा प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ ।

बाढीका कारण कालीगण्डकी नदीको सतह बढ्दै जाँदा किनार क्षेत्रका बस्तीमा त्रास फैलिएको छ । मालढुंगा, जैमिनीधाम लगायतका स्थानमा खोला तथा नदी किनारमा नजान सर्तकता अपनाइएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए । सम्भावित असर न्यूनीकरणका लागि प्रहरीले सतर्कता अपनाउँदै परिचालन गरेको उनले बताए ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully