लमजुङ–मनाङ सडकमा रातको समय यातायात सञ्चालनमा रोक

असार २४, २०८२

आश गुरुङ

Suspension of night time traffic operation on Lamjung-Manang road

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले सदरमुकाम बेंसीसहरदेखि मनाङको सीमानासम्म रातको समय यातायात सञ्चालनमा रोक लगाएको छ ।

यसअघि मर्स्याङ्दी गाउँपालिकाले बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिकाभित्रको सडकमा रातको समय यातायात सञ्चालनमा रोक लगाएको थियो ।

प्रशासनले डुम्रे–बेंसीसहर–चामे सडक खण्डको बेंसीसहरदेखि मनाङ सिमानासम्मको सडक खण्डमा असार २५ गते बुधबारदेखि साउन मसान्तसम्म साँझ ७ बजेबाट बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सवारी साधन सञ्चालन तथा आवतजावतमा रोक लगाएको हो ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मनसुनजन्य विपद्‌बाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न रातको समय सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत विज्ञान पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

मर्स्याङ्दी गाउँपालिका विपद् व्यवस्थापन समितिको आइतबारको बैठकले बेंसीसहर–चामे सडकको मर्स्याङ्दी गाउँपालिकामा पर्ने सडकमा माथिबाट ढुङ्गा र पहिरो आउन सक्ने भन्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स र अन्य अति आवश्यक काममा बाहेक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले वडा नं. ३, अर्खलेबेंसी, वडा नं. ७, ङादी साथै बेंसीसहर–चामे सडक खण्डको वडा नं. ४ मा पर्ने जगतसम्म मालबाहक गाडीहरु र अन्य सवै सवारी साधनहरु असार २५ देखि अर्को सूचना जारी नभएसम्म रातको समय आवागमनमा रोक लगाउने निर्णय गरिएको बताए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully