तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालमा हाडजोर्नी उपचार सेवा सुरु गरिएको छ । हाडजोर्नी उपचारको सेवा सुरु गरिएसँगै एक बिरामीको शल्यक्रियामार्फत सफल उपचार पनि भएको छ ।
आँबुखैरैनी वडा नम्बर ३ का करिब ५३ वर्षीय पुरुषको हातको हड्डी भाँचिएकाले शुक्रबार अस्पतालमा शल्यक्रियामार्फत उपचार गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘हाडजोर्नी तथा नशा रोगसम्बन्धी उपचार सेवा सुरु गरेको करिब एक हप्ता भयो । माइनर शल्यक्रिया तथा उपचार भैरहेको थियो । हातको हड्डी भाँचिएका एक जनाको शल्यक्रियामार्फत स्टिल हाली जोड्ने कार्य पहिलो हो ।’
पालिकाद्वारा सञ्चालित अस्पतालमा हाडजोर्नीको उपचार सुरु भएसँगै यस भेगका जनतालाई सेवा लिन चितवन, पोखरा, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । उनले भने, ‘अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरी हालै सेवा विस्तार गरिएको हो ।
गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी विशेषज्ञ डा.राजकुमार शाहलाई नियुक्त गरेको छ । अस्पतालमा सेवा विस्तार गर्ने क्रममा हाडजोर्नीका बिरामीलाई सहज रूपमा पालिकामै सेवा दिने उद्देश्यसहित हाडजोर्नी चिकित्सकको व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चुमानले बताए ।
अस्पतालका प्रमुख डा.डिबी क्षेत्रीले गाउँपालिकाले पूर्णकालीन रूपमा अनुबन्ध गरी हाडजोर्नी सेवा सुरु गरेको आँबुखैरेनी गण्डकी प्रदेशमै पहिलो अस्पताल रहेको दाबी गरे । यो सेवाले आँबुखैरेनी मात्र नभई छिमेकी पालिकाबाट बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
अस्पतालले साना, ठूला शल्यक्रियाको सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा गत पुस १६ गते शल्यक्रियामार्फत प्रसूति सेवा, पुस १३ र मंसिर २२ गते हर्नियाको सफल शल्यक्रिया गरिएको थियो ।
