गोरखा — गोरखा नगरपालिका–६ स्थित ठुलोआँगनमा आदिवासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा आएको छ । कक्ष सञ्चालनमा आएसँगै अब गोरखा घुम्न आएका आन्तरिक तथा बाहृय पर्यटकले विभिन्न जातजातिको भेषभूषा तथा परम्परागत गरगहनामा सजिएर तस्बिर लिन पाउने छन्।
गोरखा नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाले भेषभुषा प्रदर्शनमा राखेको हो। प्रदर्शनी तथा सेवा कक्षमा १२ जातजातिको भेषभूषा रहेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु रानाले बताए। गुरुङ, मगर, तामाङ, नेवार, कुमाल, बराम, चेपाङ, माझी, भुजेल, दराई, शेर्पा, घलेको जातिको परम्परागत भेषभूषा प्रदर्शनीमा रहेको उनले बताए ।
त्यस्तै आदिवासी जनजातिको पहिचान झल्कने पुरातात्त्विक, सांस्कृतिक हिसाबले महत्त्व राख्ने गरगहना पनि प्रदर्शनी तथा सेवा कक्षामा रहेको छ । मारवाडी, ढुङ्ग्री, बुलाकी, माला लगायतका सामाग्रीहरू संकलन गरेर राखिएको उनले बताए । ‘एक जातिको कम्तीमा पनि १०/१० सेट पोसाक राख्ने योजनामा छाौ,’ रानाले भने,‘भेषभूषाको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गर्ने उद्देश्य हो ।’ गोरखा नगरपालिकाले घोषणा गरेको भ्रमण वर्षलाई लक्षित गरेर भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा ल्याएको उनले बताए ।
‘प्रदर्शनीमा राखिएको भेषभूषा लगाएर गोरखा भ्रमण आएका पर्यटकले तस्बिर लिन सक्नुहुन्छ,’ उनले भने,‘पोसाक प्रयोग गरेबापत न्यूनतम शुल्क पनि राखेका छाौ ।’ गोरखा सङ्ग्रहालय, गोरखा दरबार लगायतका क्षेत्रमा परम्परागत पोसाकमा सजिएर तस्बिर लिन सकिने उनले बताए । अझै भेषभूषा थप्ने योजनामा रहेको पनि उनले सुनाए । ‘पर्यटकको माग अनुसार अन्य जातीय पोसाक पनि थप्दै जान्छाौ,’ उनले भने ।
आदिवासी जनजातिको पहिचान स्थापित गर्न पनि भेषभूषा प्रदर्शनीले सघाउ पुग्ने विश्वास लिइएको छ । भेषभूषा प्रदर्शनी तथा सेवा कक्षको शुक्रबार गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकरले उद्घाटन गरे । परम्परागत भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने नगर प्रमुख रानाले बताए । ‘भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो,’ उनले भने,‘पर्यटन प्रवर्द्धनमा पनि यसले सघाउ पुग्ने विश्वास लिएका छाौ ।’ भेषाभुषा प्रदर्शनी सागै सांस्कृतिक खानाहरूलाई पनि प्रचार र प्रदर्शन गर्दै जानुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए ।
