टोकोसेरो संरक्षणका लागि कास्कीमा ८९, स्याङ्जामा ७, म्याग्दी र बागलुङमा २–२ गरी सय कृत्रिम गुँड निर्माण
पोखरा — खोपी राखिएका पुराना घरमा चराले गुँड बनाउने गरेको सम्झना पोखरा–२५ हेम्जाका केशवराज सापकोटालाई अझै छ । अचेल त्यस्ता घर हराएको देखेका उनी चराको बासस्थान बचाउन ‘लाटोकोसेरो दूत’ बनेका छन् ।
संरक्षणमा काम गर्ने संस्था ‘प्रकृतिका साथीहरू’ ले उनीसहित ६ जनालाई लाटोकोसेरो दूत बनाएर कृत्रिम गुँड तयार गरेको हो ।
गण्डकी प्रदेशमा संस्थाले तयार गरेको लाटोकोसेरो संरक्षण परियोजनाले गत वर्ष ‘ह्विट्ली अवार्ड’ पाएको थियो । विश्वभरबाट प्रतिस्पर्धा गरेका परियोजनामध्ये भोटिङका आधारमा ६ वटा परियोजना छानिए । त्यसमध्ये नेपालको लाटोकोसेरो संरक्षण परियोजनालाई ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्डको अवार्डबाट पुरस्कृत गरेको थियो ।
संस्थाका निर्देशक संरक्षणकर्मी राजु आचार्यलाई बेलायती राजकुमारी एनले लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गरेकी थिइन् । त्यही रकम गण्डकीमा लाटोकोसेरो संरक्षणमा खर्च गरिएको छ ।
यी कार्यक्रम सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालय र वडा कार्यालयसँगको सहकार्यमा गरिएका हुन् । परियोजनाको सुरुआतमा केशवराज सापकोटा, सुदर्शन पराजुली, ज्योति शर्मा, दीपा गुरुङ, आयुष ढुंगाना र बालकुमार गुरुङ लाटोकोसेरो संरक्षण दूतका रूपमा छानिए । तालिम लिएपछि लाटोकोसेरो संरक्षणमा खटिए । परियोजनाअन्तर्गत गत वर्ष भदौबाट कास्कीमा ८९, स्याङ्जामा ७, म्याग्दी र बागलुङमा २–२ गरी एक सय कृत्रिम गुँड राखिएका छन् ।
टुनीको काठबाट बनेका कृत्रिम गुँड ठूलो र सानो गरी दुई प्रकारका छन् । ठूलो गुँड गोठे लाटोकोसेरो र सानो गुँड कोचलगाँडे, डुन्डुल लाटोकोसेरोका लागि बनाइएको हो । ठूलो गुँड ५ हजार र सानो गुँड ३ हजार ५ सय रुपैयाँमा तयार भएको आचार्यले बताए । घर, विद्यालय, सामुदायिक भवन, वडा कार्यालय, मन्दिर, चौतारा, पार्क, पार्टी प्यालेसमा कृत्रिम गुँड राखिएका छन् । त्यस्तो गुँड राख्न संस्थाले सम्बन्धित पक्षसँग १० वर्षका लागि सम्झौता पनि गरेको छ ।
बेलायतको गोठे लाटोकोसेरो कोषले तयार गरेको अन्तर्राष्ट्रिय गोठे लाटोकोसेरो कृत्रिम गुँड मापदण्डका आधारमा नेपालमा पनि तयार गरिएको आचार्यले बताए । ‘केही व्यक्तिले आफ्नो घरमा कृत्रिम गुँड बनाए पनि संस्थागत रूपमा यति ठूलो मात्रामा बनाएको नेपालमा पहिलोपल्ट हो,’ उनले भने, ‘पहिला पुराना घरमा खोपी हुन्थे, अहिलेका घरमा त्यस्तो हुँदैन । पुराना घर भत्किँदै गएका छन् । त्यसैले कृत्रिम गुँड बनाउनुपर्यो ।’
संस्थाले परीक्षणका लागि गुँडको गतिविधि नियाल्न एउटा गुँडको भित्र र बाहिर सीसीटीभी क्यामरा पनि जडान गरेको छ । सात वटा गुँडमा लाटोकोसेरोले बास बनाएको छ । ४८ वटामा चिवे, धोबिनी, डाँग्रे, परेवा, खोले कल्चौडो बसेका छन् । लाटोकोसेरोले आफैं गुँड नबनाउने र अरू चराले बनाएकोमा बस्ने भएकाले यसको संरक्षणमा कृत्रिम गुँड फलदायी हुने आचार्यको विश्वास छ ।
परियोजनाअन्तर्गत प्रहरी, वन कर्मचारी, स्थानीय समुदाय र विद्यार्थीमाझ लाटोकोसेरो संरक्षणसम्बन्धी सचेतना शिविर संस्थाले चलाएको छ । लाटोकोसेरो बूढो रुखमा पनि बस्ने भएकाले प्रदेशभर ५ सय वटा बूढा रुख छनोट गरी संरक्षण गरिएको छ । ती रुखको अनुगमन लाटोकोसेरो दूतले गर्छन् । परियोजनाअन्तर्गत स्याङ्जाको रोल बराह र सिम्रिलेक सामुदायिक वन, पोखरा–२५ हेम्जाको तिब्रेकोट सामुदायिक वन र म्याग्दीको देउराली पाखा बासकुना सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । यीसहित पोखरा–१३ को भद्रकाली वन, पोखरा–२३ को शान्ति तथा सल्लाघारी सामुदायिक वनलाई गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ ।
संस्थाले गरेको अध्ययनअनुसार पोखराको महेन्द्रपुल, पामे, हेम्जा र भद्रकाली क्षेत्रबाट मात्रै वर्षमा १२ हजार गुलेली बिक्री हुने गर्छ । संस्थाले गुलेली प्रतिबन्धित क्षेत्र वरपर रहेका पसलबाट गुलेली किनेर ‘यो पसलमा गुलेली बेच्दैनौं’ लेखिएको बोर्ड पनि टाँगेको छ । निर्देशक आचार्यले ती क्षेत्रमा बाँदर धपाउन गुलेलीको प्रयोग गर्न दिइए पनि चरा मार्न प्रयोग गर्नबाट रोकेको बताए ।
उनका अनुसार विश्वभर हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका लाटोकोसेरा अभिलेख गरिएका छन्, जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छन् । ‘गोठे लाटोकोसेरो मानवबस्ती नजिकै बस्न रुचाउने पन्छी हो । यस पन्छीले कृषि क्षेत्रमा मुसा नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजारदेखि ३ हजारसम्म मुसा खान सक्छ, जसले कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउँछ । त्यसैले यसलाई किसानको साथी पनि भनिन्छ ।’
यस्तै, पोखरा महानगरपालिका–२५ हेम्जाले गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’ घोषणा गरेको छ । वडाध्यक्ष मोतीलाल तिम्सिनाले शनिबार हेम्जामा आयोजित लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा उक्त घोषणा गरेका हुन् । वडाको बैठकबाट सर्वसम्मत रूपमा निर्णय गरेर वडा पन्छी र वडा सर्प घोषणा गरेको उनले बताए ।
सर्प संरक्षण समाज नेपालको आयोजना, प्रकृतिका साथीहरूसँगको सहकार्य र वडा नम्बर २५ को सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । ‘जैविक विविधताको संरक्षणप्रति हाम्रो प्रतिबद्धता र यो सुन्दर तथा उपयोगी पन्छीप्रति सम्मान जनाउँदै घोषणा गरिएको हो,’ वडाध्यक्ष तिम्सिनाले भने, ‘यो घोषणामार्फत हामी प्रकृति र समाजबीचको सहअस्तित्व प्रवर्द्धन, कृषिमा उत्पादन वृद्धि र संरक्षण चेतनाको सन्देश फैलाउने उद्देश्य राखेका छौं ।’
सर्प संरक्षण समाजका अध्यक्ष रामजी गौतमका अनुसार संसारभरि लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिब ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिब ४० र हेम्जामा करिब २२ प्रजातिका सर्प अभिलेख गरिएको छ । ‘राजगोमनले मुख्यतः सर्प खाने भएकाले अन्य सर्पको संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । लजालु प्रजातिको यो सर्प हेम्जाका खोला, नदी, वन, जंगलहरूमा गुँड बनाएर बच्चा पनि हुर्काउँछ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा लोपोन्मुख राजगोमनको संरक्षणले यो क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनाउन सकिन्छ, जसका कारण यो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिनेछ ।’
