६ जनालाई पोखरा उत्कृष्ट युवा अवार्ड

असार १४, २०८२

कान्तिपुर संवाददाता

Pokhara best youth award to 6 people

कास्की — पोखरालाई प्रमुख कर्मथलो बनाएर विभिन्न क्षेत्रमा क्रियाशील ४० वर्षमुनिका ६ जना युवालाई पुरस्कृत गरिएको छ । पोखरा महानगरपालिका नगर युवा परिषद्ले शनिबार ६ जनालाई ‘पोखरा उत्कृष्ट युवा अवार्ड’ प्रदान गरेको हो ।  

सामाजिक तथा सरसफाइ क्षेत्रबाट सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रबाट ब्लाक टेक प्रा.लिका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थिएटरका संस्थापक मोतिबहादुर कार्की (परिवर्तन), कृषि तथा उद्यमी क्षेत्रबाट ‘हरिलो’ ब्राण्ड उत्पादक रोश्नी आचार्य, खेलकुद क्षेत्रबाट लन टेनिस खेलाडी प्रदीप खड्का र पत्रकारिता क्षेत्रबाट पत्रकार अमृत सुवेदीलाई पुरस्कृत गरिएको हो । 

उनीहरूलाई मेयर धनराज आचार्यले नगद ३० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरे । 

युवालाई आफ्नो क्षेत्रमा क्रियाशील रहिरहन प्रेरित गर्ने उद्देश्यले पुरस्कृत गरिएको परिषद् उपाध्यक्ष सन्तोष न्यौपानेले बताए । प्रतिभा छनोट गर्न गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीको संयोजकत्वमा सिफरिस समिति गठन गरिएको थियो । गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी परियार, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको हो । 

कान्तिपुर

Link copied successfully