पोखरा — पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजाले जैविक विविधता संरक्षणको दिशामा महत्त्वपूर्ण कदम चाल्दै गोठे लाटोकोसेरोलाई 'वडा पन्छी' र राजगोमनलाई 'वडा सर्प'को रूपमा घोषणा गरेको छ ।
वडा अध्यक्ष मोतिलाल तिम्सिनाले शनिबार हेमजामा आयोजित लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा उक्त घोषणा गरेका हुन् । सर्प संरक्षण समाज नेपालको आयोजना, प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्य र वडा नम्बर २५ को सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालमा लाटोकोसेरोलाई वडा पन्छीको रूपमा घोषणा गरिएको यो दोस्रोपल्ट हो । यसअघि खोटाङको जालपामा हाप्सिलोलाई घोषणा गरी विभिन्न संरक्षणका कामहरू गरिँदै आएको छ । ‘जैविक विविधताको संरक्षणप्रति हाम्रो प्रतिबद्धता र यो सुन्दर तथा उपयोगी पन्छीप्रति सम्मान जनाउँदै यो विशेष घोषणा गरिएको हो,’ वडा अध्यक्ष तिम्सिनाले भने, ‘यो घोषणा मार्फत हामी प्रकृति र समाजबीचको सहअस्तित्व प्रवर्द्धन, कृषिमा उत्पादन वृद्धि र संरक्षण चेतनाको सन्देश फैलाउने उद्देश्य राख्छौँ ।’
संरक्षणमा काम गरिरहेको संस्था प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार विश्वभर हालसम्म २५० भन्दा बढी प्रजातिका लाटोकोसेरा अभिलेख गरिएका छन्, जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छन् । तीमध्ये १३ प्रजाति पोखरा उपत्यकामा र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख भएका छन् । थप अनुसन्धान गरिएमा यो संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।
‘गोठे लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पन्छी हो । यस पन्छीले कृषि क्षेत्रमा मुसा नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछ,’ उनले भने, ‘लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजारदेखि ३ हजारसम्म मुसाहरू खान सक्छ, जसले कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउँछ । त्यसैले यसलाई किसानको साथी पनि भनिन्छ ।’
हेमजा क्षेत्र यसको लागि उपयुक्त बासस्थान भएकोले यो उल्लेखनीय संख्यामा पाइने उनले बताए । तर आधुनिक भवन निर्माण, कृषि क्षेत्रमा कमी, गुलेलीको प्रयोग र वासस्थान विनाशले गर्दा यो पन्छी संकटमा परेको उनले सुनाए ।
‘प्रकृतिका साथीहरू’ संस्था र डिभिजन वन कार्यालय कास्कीसँग मिलेर लाटोकोसेरो संरक्षण र प्रवर्द्धनका लागि वडा नम्बर २५ ले विभिन्न कार्यको थालनी गरिसकेको छ । यसका लागि व्हिटली पुरस्कारको रकम ‘प्रकृतिका साथीहरू’ संस्था मार्फत प्रयोग भएको छ । यस वर्ष वडाबाट लाटोकोसेरो र सर्प संरक्षणका लागि ८० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
संरक्षण कार्यका क्रममा हेमजामा लाटोकोसेरोका लागि २० वटा कृत्रिम गुँडहरू जडान गरिएको छ भने १९ वटा पुराना रुखको संरक्षण तथा नियमित सुपरिवेक्षण गरिएको छ । यसैगरी १ सय २४ जना स्थानीय बासिन्दालाई लक्षित गरी जनचेतना र तालिम कार्यक्रमको सञ्चालन गरिएको छ भने ३ सय ८९ विद्यार्थीलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । हेमजा बोर्डिङ र गौरीशंकर माविमा २ वटा लाटोकोसेरो क्लब गठन गरी तालिम प्रदान गरिएको छ । ती क्लबको माध्यमबाट बिरुवा रोप्ने, सरसफाइ, चित्रकला जस्ता कार्यहरू सम्पन्न गरिएका छन् । लाटोकोसेरो संरक्षण दूतको छनोट गरी भ्रमण तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
नेपालकै पहिलो ‘वडा सर्प’ राजगोमन
नेपालमा राजगोमनलाई वडा सर्पको रूपमा घोषणा गर्ने पोखरा–२५ हेमजा पहिलो स्थानीय तह हो । सर्प संरक्षण समाजका अध्यक्ष डा. रामजी गौतमका अनुसार संसारभरि लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिब ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिब ४० र हेमजामा करिब २२ प्रजातिका सर्प अभिलेख गरिएको छ ।
‘राजगोमनले मुख्यतः सर्प खाने भएकोले अन्य सर्पहरूको संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । लजालु प्रजातिको यो सर्प हेमजाका खोला, नदी, वन, जंगलहरूमा गुँड बनाएर बच्चा पनि हुर्काउछ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा लोपोन्मुख राजगोमनको संरक्षणले यो क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनाउन सकिन्छ जसका कारण यो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिने छ ।’
उनले थपे, ‘विशेष गरी हामीले परापूर्वकालदेखि नै यो सर्पलाई नाग पञ्चमीका दिन पूजा गर्दै आएका छौँ । राजगोमन, सर्पको राजा हो । यसको रक्षा गर्नु भनेको जैविक विविधताको रक्षा गर्नु हो ।’
यो वडामा राजगोमनको गुँड अभिलेखन, संरक्षण र जनचेतना कार्यक्रम सर्प संरक्षण समाज नेपालले विगत ८ वर्षदेखि गर्दै आएको छ । विगतका वर्षमा वडाको आर्थिक सहयोगमा जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
