बर्सातमा चिप्लोबाटो यात्रा गर्नुपर्छ । जंगल छिचोल्नुपर्ने भएकाले उनीहरु समूहमा हिँड्छन् ।
बागलुङ — गलकोट नगरपालिका-८ थालेपोखराकी शर्मिला विक कक्षा ८ मा पढ्छिन् । विद्यालय पुग्न उनलाई ३ घण्टा लाग्छ, घर फर्कंदा उकालो भएकाले साढे ३ घण्टा हिँड्नुपर्छ ।
बाटोमा जंगल छ । बर्सातमा चिप्लोबाटो यात्रा गर्नुपर्छ । उनको झोलामा किताबकापी मात्रै होइन टर्चलाइट पनि हुन्छ । यो सास्ती खेप्ने उनकै साथी सुमन गलामी पनि छन् । जंगलको बाटो यात्रा गर्नुपर्ने भएपछि उनीहरु समूहमा हिँड्छन् ।
दैनिक साढे ६ घण्टा लामो यात्रा गर्दा उनीहरुलाई सुरक्षा छैन । न त पढ्नेलेख्ने समय पाउँछन् ।
आर्थिक रुपमा विपन्न सबै थालेपोखरावासीले दैनिक ६ घण्टाभन्दा बढी हिँडाएर छोराछोरी पढाउनसमेत सक्दैनन् । वडा सदस्यसमेत रहेका स्थानीय अभिभावक छमबहादुर गलामी बालबालिकाले निकै दुःख पाएको बताउँछन् ।
२ हजार १ सय मिटर उचाइमा रहेको थालेपोखरा पर्यटकीय दृष्टिले राम्रो छ । तर यो गाउँमा माध्यामिक विद्यालय छैन । प्राथमिक तहको मात्र पढाइ हुन्छ । आधारभूत र माध्यामिक तह पढ्न बालबालिका शिव मावि पुग्छन् । दरमखोला किनारको शिव माविमा पढ्ने थालेपोखराका विद्यार्थी १५ जना छन् । देवकोटा अधारभूत विद्यालयमा पढ्ने पनि केही छन् । यो शिव माविको तुलनामा १ घण्टा नजिक छ । तर कक्षा ८ देखि १२ सम्मका लागि भने शिव माविमै धाउनुको विकल्प छैन ।
वडाध्यक्ष तेजप्रसाद सापकोटाले बालबालिकाले सास्ती भोगेको देखेपछि आवास बनाएर राख्न पहल गरेको बताए । ‘हामीले बालबालिकाको समस्या बुझेर छात्रावास राख्ने निधो गरेका छौं,’ उनले भने, ‘नगरपालिकाले साथ दियो भने ठिकै छ, नभए वडाको बजेटबाट भएपछि बालबालिका त पढाउनैपर्छ ।’
दैनिक घण्टा हिँड्ने बालबालिकाले पढ्न नसक्ने भएकाले यो समस्या समाधानका लागि सामाजिक विकास समिति र प्रधानाध्यापक हरि चालिसेसँग समन्वय गरेको उनले बताए ।
चालिसेले पनि बालबालिकाले पढाइमा सास्ती भोगेको भन्दै हाल विद्यालयको नाममा रहेको साढे दुई रोपनी जमिनमा छात्रावास बनाउने प्रस्ताव भएको बताए । हाल दुई कोठा र शौचालय रहेकामा तत्कालका लागि थोरै विद्यार्थीबाट छात्रावास चलाउन पहल गरेको उनको भनाइ छ । त्यसका लागि व्यवस्थित भवन र अन्य सामग्री जुटाउन नगरमा जानकारी गराइएको छ ।
सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले वास्तविक समस्या बुझ्दा सहयोग गर्नैपर्ने देखिएको बताए । ‘बालबालिकाले धेरै समस्या भोगेर पढेका छन्, उनीहरूको हितका लागि केही काम गर्नैपर्छ ।’ त्यसका लागि छात्रावास सञ्चालन गर्ने, वडा र पालिकाले बालबालिकालाई खानेबस्ने व्यवस्थापन गराउने योजना छ । साथै अभिभावक शिक्षा दिएर बालबालिकालाई विद्यालय अनिवार्य पठाउन लगाउने समेत उनले बताए ।
भौगोलिक दुरी टाढा भएकाले कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउनै चाहँदैनन् । घरको काममा लगाउने गरेका छन् । छात्रावास बनाउन सकेमा थालेपोखराका मात्र नभई नगरभरका असहाय र अन्य समस्या भएका बालबालिका राखेर पढाउन सकिने चालिसे बताउँछन् । ‘दलित र विपन्न परिवारका अरु बालबालिका पनि यहाँ पढाउन सकिन्छ,’ चालिसेले भने, ‘सानो लगानी गर्दा नगरस्तरीय छात्रावास बनाएर विपन्न परिवारका बालबालिकालाई पढाउन सकिन्छ ।’ बालबालिकाबाट भने शुल्क नलिने उनले बताए ।
गलकोट नगरपालिका पनि छात्रावास बनाएर सञ्चालन गर्ने पक्षमा सकारात्मक छ । हाल बनिसकेका २ कोठालाई सदुपयोग गर्दा अप्ठ्यारोमा परेका बालबालिकाले राहत पाउने चालिसेले बताए । सहर उन्मुख र लोकमार्गको छेवैमा भएकले अलपत्र भेटिने अन्य बालबालिका पनि यहाँ पढाउन सकिन्छ ।
