बालमैत्री नगर बनाउन जैमिनी नगरको १ करोड ३० लाखको बजेट

असार ९, २०८२

प्रकाश बराल

Jaimini Nagar's budget of 13 million to make Balmaitri Nagar

बागलुङ — जैमिनी नगरपालिकाले बालमैत्री नगर बनाउन १ करोड ३० लाख बजेट विनियोजन गरेको छ । आगामी चैतभित्र बालमैत्री नगर घोषणा गर्न प्रत्येक वडामा थप ५लाख रुपैयाँको दरले ५० लाख खर्च गरिने छ ।

बालमैत्री नगर अभियानका लागि चाहिने ५२ वटा सूचक पूरा गर्न भौतिक पूर्वाधार, नीति निर्माण र कार्यक्रम सञ्चालनका लागि उक्त बजेट खर्च हुने छ । उपप्रमुख हरिहर शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट र कार्यक्रममा अभिभावक र शिक्षकको क्षमता विकास गरेर बालमैत्रीबारे अभ्यस्त बनाउन पनि छुट्टै बजेटको व्यवस्थापन गरेको जानकारी दिए । 

७५ करोड ४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै उपप्रमुख शर्माले बालमैत्री अभियानकै सफलताका लागि नगरकी छोरी अभियानमा पनि बजेट व्यवस्था गरेको बताए । नगरपालिकाभित्र छोरी जन्मेको खण्डमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले २ हजार ५ सय रुपैयाँको बचत खाता खोलिदिने नीति लिएको छ । उक्त नीति अनुसार हरेक बालिकाको खाता सञ्चालनका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको हो । सबै पूर्वाधार निर्माणमा पनि बालमैत्री संरचना बनाउने गरी बजेट व्यवस्थापन भएको हो ।

कृषि क्षेत्रको विकासमा नीतिले प्राथमिकता दिएकोले किसान परिचयपत्र वितरण, दूध र अण्डाका आयात प्रतिस्थापन गर्न स्थानीय उत्पादनको लागि बजेट विनियोजन गरिएको छ । बाँदर प्रभावित क्षेत्रमा कृषिबाली प्रवर्द्धन गर्ने, कृषि एम्बुलेन्स खरिदका लागि संघीय सरकारको बजेट आउने भएपछि नगरपालिको सञ्चालन खर्चका लागि बजेट विनियोजन गरेको छ । वडा नं ८ को पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको लागि काम थाल्ने नीतिमा उल्लेख गरिएको थियो । वन ऐन, विन्यजन्तु सम्बन्धी कानुनहरु समेतले बगैँचा निर्माण अगाडि बढ्न सकेको थिएन । संघीय सरकारले पनि कृषिको हानिकारक वन्यजन्तुमा बाँदरलाई राखेपछि बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो । 

जैमिनीभित्र उत्पादन हुने रैथाने बाली संरक्षण गर्न किसानलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ । ती उत्पादनको बजारीकरणमा नगरपालिकाले साथ दिने बजेटमा उल्लेख छ । त्यसबाहेक टिमुर, आलु, बाँकोको गुन्द्रुक लगायतको सामानको प्याकेजिङ गर्न पनि पालिकाले लगानी गर्ने भएको हो । 

त्यसबाहेक खसीबोका र राँगो उत्पादन बढाएर चीनमा निर्यात गर्ने सरकारी लक्ष्यमा साथ दिन पाडापाडी र बाख्रा वितरणमा अनुदान दिने, तालिम तथा खोप र अन्य प्रोत्साहनका कार्यक्रममा पनि बजेट विनियोजन गरिएको शर्माले जानकारी दिए । 

‘नि:शुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरेर किसानलाई नि:शुल्क सेवा दिने, दूध बिक्री गर्दा प्रतिलिटर २ रुपैयाँ अनुदान दिने समेत व्यवस्था छ । हरेक वडामा हेलिप्याड बनाउने कार्यक्रममा पनि प्रति वडा १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully