बागलुङ — जैमिनी नगरपालिकाले पालिकाभित्रका सबै किसानलाई परिचयपत्र दिने भएको छ । सबै किसानलाई सूचीकरण प्रणालीमा आबद्ध बनाई नगरपालिकाले नै परिचयपत्र दिने भएको हो । जैमिनीलाई सबै किसान सूचीकृत पालिका बनाइने नगरप्रमुख नरबहादुर पुनले बताए ।
अघिल्लो वर्ष ‘सेरा जाऔँ, केरा खाऔँ’ भन्ने नारा बनाएपछि सयौँ हेक्टर जमिनमा हजारौँ केरा रोपिएको छ । यस वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिँदै सुन्तला र केराका पकेटहरू विस्तार गर्दै लैजाने नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको पुनको भनाइ छ ।
कृषि विकासमा मात्रै जैमिनीले ३१ बुँदे नीति तथा कार्यक्रम ल्याएको हो । जसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको छ । उत्पादन र बिक्रीमा आधारित अनुदान दिई काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याइएको उनले बताए ।
व्यावसायिक रूपमा पालिने गोरु, राँगो र बंगुरलाई प्रोत्साहन गरिनेछ । पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातका लागि तयारी बनाउने योजना जैमिनीको रहेको छ । नेपाल सरकारले पनि चीनमा मासु निर्यात गर्ने लक्ष्य बनाएको छ । उक्त लक्ष्यअनुसार बागलुङमा पछिल्लो एक दशकदेखि पाडापाडी, खसीबोका लगायतमा रोग देखिएको छैन ।
किसानको उत्पादन बजारमा जोड्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति समेत रहेको छ । यो नीतिअनुसार सञ्चालन हुने एम्बुलेन्सले किसानको उत्पादन बजार पठाउने र घरघरमा पुगेर किसानलाई कृषि प्राविधिक सेवा दिने काममा उपयोग गरिनेछ । पशुलाई खोप लगाउने, औषधि तथा अन्य उपचार गराउनेदेखि उत्पादन बजार पठाउनसमेत एम्बुलेन्स प्रयोग गरिनेछ ।
रैथाने बालीको उत्पादन बढाउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाङ, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ ।
बाँदर आतंक न्यूनीकरण गर्न आवश्यक उपायहरूको खोजी गर्दै पुरानो गाउँमा बाँदर बगैँचा निर्माणका लागि काम थाल्ने नीतिमा उल्लेख छ । अघिल्लो वर्षदेखि नै यो स्थानलाई बाँदर पार्क बनाउन पहल गरिएकोमा नीतिगत समस्याले रोकिएको हो । वन ऐन र वन्यजन्तुसम्बन्धी कानुनहरूले काम रोकिएकोमा संघीय सरकारले पनि बाँदरलाई कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने नीति ल्याइएको हो ।
जैमिनीले पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ । दुग्धजन्य परिकारलाई मूल्य शृंखलामा जोडेर बन्द रहेका फर्म पुनः सञ्चालनमा प्रोत्साहन गरिने भएको हो । त्यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ । दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो ।
शिक्षाको गुणस्तर बढाउन लिड स्कुलमार्फत पढाइ सञ्चालन गर्ने, सुत्केरी महिला, आकस्मिक बिरामी तथा जटिल दुर्घटनाका बिरामीलाई हेलिकप्टरमार्फत गर्न सबै वडामा हेलीप्याड बनाइने भएको हो । १० वटा वडा रहेको जैमिनीमा अघिल्लो वर्ष नै ३ वटा वडामा पक्की हेलीप्याड निर्माण गरिएको छ । छोरी जन्मेमा जन्मदर्ताका बेला २ हजार ५ सय रुपैयाँको खाता खोलिदिने नीति समेत नगरले ल्याएको छ । बजेटमा पनि सुनिश्चितता गरेर उक्त नीति ल्याइएको नगर उपप्रमुख हरिहर शर्माले बताए ।
