कास्की — भूपी शेरचन राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२५ हेम्जामा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
पोखराबाट पर्वततर्फ जाँदै गरेको ग १ ज ८६९१ नम्बरको माइक्रो शनिबार दिउँसो हेम्जा फेदीमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा चालक पोखरा–१७ घारीपाटन बस्ने ३४ वर्षीय कुशलरत्न परियार, कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा बस्ने २७ वर्षीय दिपेश परियार, सोही ठाउँकी २७ वर्षीय रितिका परियार, ४ वर्षीय रेगन परियार, एक वर्षीय रियान्त परियार र पर्वतको जलजला गाउँपालिका–४ मल्लाजका ३७ वर्षीय हर्क विक घाइते भएका छन् ।
घाइतेको पोखराकै मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको टाउको, खुट्टा, हात र अनुहारमा चोट लागेको कार्यालय प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले बताइन् । घाइते सबै खतरामुक्त रहेका छन् ।
