विनयी खोलामा डाइभर्सन हटाइयो

असार ७, २०८२

नारायण शर्मा

Diversion at Vinayi River removed

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत दुम्कीबासको विनयी खोलामा अब डाइभर्सन नबनाइने भएको छ ।

विनयी खोलामा दुई साताअघि ढलान भएको पक्की पुलबाट चाँडै यातायात सञ्चालन गर्न सकिने भएको हुँदा हुँदा त्यहाँ बाढीले भत्काएको डाइभर्सन मर्मत सम्भार नगरिने भएको हो । दुई साताअघि ढलान भएको पुलको भारवहन क्षमता हेरेर चाँडै त्यहीबाट यातायात सञ्चालन गर्ने तयारी सडक विभागले गरेको छ ।


सडक डिभिजन भरतपुरका प्रमुख नारायण लामिछानेले पुलको भारवहन क्षमता हेरेर पुलबाट चाँडै यातायात सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।


गत मंगलबार राति विनयी खोलाको डाइभर्सन बगाएपछि सडक विभागले त्यहाँ निर्माण सुरु गरेको छैन । डाइभर्सनमा राखिएका हृयुम पाइप नबगुन् भनेर किनारमा लगेर राख्ने काम शनिबार सुरु भएको छ ।


सडक डिभिजनका प्रमुख लामिछानेले खोलामा राखिएको हृयुम पाइप नबगुन् भनेर शनिबारदेखि निकाल्ने काम भएको जानकारी दिए । उनले भने, 'त्यो सरकारी पैसा परेको चिज हो अन्यत्र काम लाग्छ । त्यहाँ अब बगेको डाइभर्सन निर्माण नगर्ने टुंगोमा पुगेको छ ।'


गत ५ दिनदेखि दाउन्ने सडक खण्ड अवरुद्ध भएका कारण पूर्व–पश्चिमका लागि छुटैका सयौं गाडी दुम्कीबास र बर्दघाटमा रोकिएका छन् । दाउन्ने सडक मर्मत नगरेसम्म त्यहाँबाट यातायात सञ्चालन हुन सक्दैन ।


यात्रुवहाक बस र साना गाडी मुग्लिन–पोखरा हुँदै बुटवल आउजाउ गराइएको छ । कतिपय साना गाडी गैँडाकोट डेढगाउँ पाल्पाको रामपुर हुँदै पिपलडाँडा सडक (काली गण्डकी करिडोर) हुँदै पठाइएको छ ।


दाउन्नेको विश्वकर्मा मन्दिर नजिकका ठूल्ठूला खाल्डा पुरेर यातायात सहज बनाउन शनिबारदेखि ग्राभेल राख्न सुरु भएको छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक निर्माणको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले शनिबारदेखि दाउन्नेमा ग्राभेल राख्न सुरु गरेको छ । पानी नपरेपछि दुईदिन पछि दाउन्नेमा यातायात सञ्चालन हुन सक्ने बताइएको छ । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully