बागलुङ — द्वन्द्वका बेला माओवादी लडाकु, नेता तथा कार्यकर्ताले प्रयोग गरेको गोरेटो बाटोलाई सम्झनलायक बनाउन गाउँपालिकाले ‘गुरिल्ला पदमार्ग’ बनाउन लागेको छ ।
ती गोरेटो बाटोहरू एकीकृत गरेर ‘गुरिल्ला ट्रेकिङ पदमार्ग’ को डीपीआर बनाइएको हो । डीपीआर अनुसार केही खण्डलाई निर्माणसमेत थालिएको छ ।
सशस्त्र द्वन्द्वका बेला यहाँको ताराखोला धेरै प्रभावित क्षेत्र हो । ताराखोलाका मात्रै २६ जना सहिद भए । २ जना बेपत्ता छन् । ताराखोलामै भएका अन्य घटनामा मृत्यु हुनेको संख्या १ सय २ जना थिए ।
६३ किमि लामो पदमार्ग निर्माण गरेर कम्तीमा ५ स्थानमा होमस्टेको व्यवस्थापन गर्ने गाउँपालिकाको तयारी छ । तीमध्ये तीनवटा स्थानमा त होमस्टे संचालनमा आउन थालिसकेका छन् । बाँकी स्थानमा पनि होमस्टे बनाइनेछ । यहाँ ट्रेकिङ गर्नेले त्रिपाल टाँगेर पनि बस्न पाउनेछन् । पदमार्गको आसपासमा सशस्त्र द्वन्द्वका अवशेषहरूको संग्रह गरिनेछ ।
ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलदेखि सहिदपार्क हुँदै थामी, म्याग्दीको बरंजाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली नयाँवन, चिनार, तिनचुले, डुडेलेक तर्फ यो पदमार्गको रेखांकन भएको छ । डुडेलेकबाट जुल्फे, गाईघाट झरना, मोतीमारे, माझखर्क, धम्जा देउराली, सोलीघोप्टेबाट पुन गाउँपालिका केन्द्रसम्मको खण्डलाई पदमार्गले समेट्ने छ । त्यसका लागि धम्जादेउराली, अर्गल वा गाईघाट झरनाबाट पनि पदमार्गमा मिसिन मिल्नेछ ।
यो पदमार्गमा सबैभन्दा अग्लो डुडेलेक ३ हजार ६ सय मिटर उचाइको छ भने होचो गाईघाट झरना १ हजार ३ सय ५० मिटरको उचाइमा छ ।
ताराखोला गाउँपालिका–१ मेतीमारे २०५१ को कात्तिकदेखि नै माओवादी तालिमकेन्द्रका रूपमा स्थापित थियो । ‘२०५२ को फागुन १ गतेदेखि जनयुद्ध थाल्न माओवादीले मोतीमारेमा तालिमकेन्द्र स्थापना गरेको थियो,’ ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले भने, ‘ऐतिहासिक स्थल भएकाले पदमार्गमा यो केन्द्र समेटिएको हो ।’
अर्गलको डाँडामा भने सहिदपार्क निर्माण भैसकेको छ । उक्त स्थान नजिकै रहेको किकल्टा होमस्टेमा बसेर सहिदपार्क अवलोकन गर्न सकिन्छ । जेठ ९ गते माओवादी अध्यक्ष पुष्पकमल दाहालले लोकमार्गको यात्रामा आउँदा यो सहिदपार्क उद्घाटनसमेत गरिसकेका छन् ।
पदमार्गभित्रै पर्ने चिनार पनि तत्कालीन तालिम केन्द्र हो । तीनचुले तालिम केन्द्र र ठूलो हिलेमा पनि होमस्टेमार्फत पर्यटकलाई बस्ने स्थान, खाने र घुम्न सकिने व्यवस्थापन भैरहेको छ । पुराना गोरेटा भएको स्थानमा सोही गोरेटा मर्मत गर्ने, नभएको स्थानमा ढुंगा छापेर पदमार्ग बनाउने गरी योजना बनाइएको विकले बताए ।
गोरेटोका रूपमा मात्र काम सम्पन्न गर्दा १५ करोड ६४ लाख २६ हजार रुपैयाँ लाग्ने अनुमान छ । ढुंगा छापेर पदमार्ग पूरा गर्न भने ४७ करोड ८१ लाख ५० हजार रुपैयाँ लाग्ने डीपीआर बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विकले जानकारी दिए । संघीय सरकारको बजेटमा साझेदारी गरेर पालिकाले काम पूरा गर्ने लक्ष्य राखेको छ ।
ताराखोला गाउँपालिकाले निर्माण गरेको सहिदपार्क । तस्बिर : प्रकाश बराल/कान्तिपुर
हरेक स्थानमा आमा समूहले पर्यटकको बासस्थानको व्यवस्थापन हेर्नेछन् । त्यसका लागि गाउँपालिकाले समूहलाई तालिम र अभिमुखीकरण पनि गराइसकेको हो । ‘खाजा र खानाको व्यवस्थापनमा आमा समूह लागेपछि त्यहाँको कमाइमा पनि उनीहरू नै संलग्न हुनेछन्,’ विकले भने, ‘आय आर्जन र रोजगारी सिर्जनाका लागि यो प्रयास भएको हो ।’
ताराखोलामा उत्पादन हुने भाँगो, टिमुर, सिमी, आलु, मुला, रातो च्याउ, कोदो र फापरको ढिंडो लगायतको अर्गानिक खाना यहाँ खुवाइने छ । पछिल्लो समय स्थानीय आमा समूहले कोदो र मकैको सेलरोटी, झिलिंगासमेत बनाएर खाजाको प्रकार बढाएका छन् ।
यो मार्गबाट उत्तरतर्फ अन्नपूर्ण र धौलागिरिको हिमाली शृंखला देखिन्छ । दर्जनौं गाउँ एउटै यात्रामा घुम्न पाइने, भेडीगोठ र खर्कको अवलोकन, अर्गानिक खाना तथा सांस्कृतिक विविधतामा रमाउन समेत पाइने गरी यो पदमार्ग रेखांकन भएको स्थानीय संगम घर्तीमगरले बताए ।
यो पदमार्गलाई व्यावसायिक बनाएर ताराखोलाले प्रशस्त पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो मार्ग गलकोट नगरपालिकाको घुम्टेलेकमा पनि जोडिन्छ । पदयात्रा गर्न चाहनेले ताराखोलादेखि तमानखोलाको सोलेसम्म पनि यात्रा गर्न सक्छन् । यो खण्डमा पनि पदमार्ग निर्माण भएको छ ।
ठूलोहिलेबाट एकैदिनमा पैदलयात्रा गरेर सोले पुगिन्छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पनि सोलेलाई पर्यटकीय गन्तव्य बनाउन म्याग्दी र बागलुङतर्फका सडक स्तरीय बनाउने, पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतको योजनामा बजेट व्यवस्थापन गराएको छ । यो पदमार्गको अप्ठ्यारो खण्डलाई सहज बनाउन दुवै पालिकाले पहल गरेका छन् ।
‘हामी अप्ठ्यारो बाटो छिचोलेर एकैदिनमा सोले पुगेका थियौं, पदमार्ग बनाइयो भने अझै सहज हुन्छ,’ फोटो पत्रकार आरके अदिप्त गिरिले भने, ‘आकर्षक पदमार्गहरू बनाएमा हिमाली शृंखला हेर्दै यात्रा गर्न धेरै पर्यटक पुग्छन् ।’
पालिकाले गण्डकी प्रदेश सरकार, संघीय सरकार र भरतपुर महानगरपालिका समेतको सहकार्यमा पदमार्ग लगायतका कतिपय काम सम्पन्न गर्ने योजनामा छ ।
‘ताराखोलाका धेरै उत्पादनलाई चितवनमा बजारीकरण गर्ने, चितवनका पर्यटकीय अनुभव ताराखोलामा ल्याउने हो,’ विकले भने, ‘केही लगानीमा पनि साथ होला, नभए पर्यटक भित्र्याउन पनि भरतपुरले साथ दिनेछ ।’ ताराखोला गाउँपालिकाले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।
काठेखोला गाउँपालिका–५ को रिजालचोकदेखि अर्गलको भातखानेडाँडा, साँदी हुँदै ताराखोलाको करिमेलादेखि म्याग्दीको रुम जोड्ने गरी सहिदमार्ग पनि निर्माणाधीन छ ।
सशस्त्र द्वन्द्वका बेला माओवादी नेतृत्वमा स्थानीयले यो झण्डै ४० किमि सडकको ट्रयाक खोलेका थिए । उक्त सडकलाई सहिदमार्ग नामकरण गरिएको छ । यो मार्ग पनि आगामी दिनमा स्तरीय बनाएर गाडी चल्ने सहज बनाउने लक्ष्य राखेको विकले बताए ।
यसअघि गलकोटदेखि ताराखोला जोड्ने सडक स्तरीय बनाउने क्रम चलिरहेको छ । तीन वर्षअघि नै सकिनुपर्ने गलकोट, ताराखोला हुँदै म्याग्दीको मंगला गाउँपालिकाको रुम जोड्ने रणनीतिक सडक अहिले पूरा भएको छैन । उक्त सडकले गुल्मीतर्फका मानिस पनि ताराखोला घुम्न जान सक्छन् । केही खण्ड स्तरीय भैसकेकाले वडा नं. ३ को घुस्मेलीदेखि गलकोट, गुल्मीको मुसिकोट हुँदै बुटवल जाने जिप संचालनमा आइसकेको छ ।
रिजालचोकदेखि वडा नं. १ को माझखर्कसम्मको १० किमि सडक कालोपत्रसमेत भैसकेको छ । यो सडकले पनि स्थानीयलाई सहज बनाएको उपाध्यक्ष भीमबहादुर रोकाले बताए ।
माझखर्कदेखि रणनीतिक सडक जोड्ने योजनाका लागि गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेपछि स्थानीय आशावादी भएका छन् । यो सडक जोडिंदा वडा नं १ बासीलाई पालिका जाने बाटो पनि छोट्टिनेछ ।
