‘छोराको अनुहार अब कहिलै देख्न नपाउने भएँ’

असार ५, २०८२

हरिराम उप्रेती

”I will never see my son's face again”

गोरखा — वैदेशिक रोजागरीको सिलसिलामा अमेरिकाको भर्जिनियामा रहेका छोरा, बुहारी, नाती, नातीनीसँग गफिएपछि मात्र लक्ष्मी परियारलाई निद्रा पर्थ्यो । सदाझैं गत जेठ २२ गते (जुन ५ तारिक) मा राति १० बजे भर्जिनियामा रहेका छोरा सन्तोष, नातीनी साइनासँग भिडियो कलमा लक्ष्मीले कुराकानी गरिन् । त्यसको भोलिपल्ट भने उनको कानमा अपत्यारिलो खबर पर्‍यो ।

माइलो छोरा सन्तोषका चार जनाको परिवार मृत भेटिएको खबर सुनेसँगै लक्ष्मीका आँखा ओभाएका छैनन् । घटना भएपछि छोराको अनुहार हेर्न अमेरिका जाने तयारीमा रहेकी लक्ष्मी भिसा नपाएपछि रोकिएकी छिन् । 

म्यानेजमेन्ट विषय लिएर काठमाडौंमा पढेका सन्तोष २०७४ सालमा परिवारसहित अमेरिका गएपछि फर्किएका थिएनन् । उनले पारिवारिक भेटघाटका लागि छिट्टै नेपाल फर्कने बताउँथे । लक्ष्मीले सुस्केरा तान्दै भनिन्, ‘अब कहिलै अनुहार देख्न नपाइने भइयो ।’

गोरखाको पालुङटार नगरपालिका–८ घर भएकी लक्ष्मी हाल काठमाडौ टोखा नगरपालिका–८ ग्रिनल्याण्डमा बस्दै आएकी छिन् । उनका माइला छोरा ३८ वर्षीय सन्तोष परियार, बुहारी ३६ वर्षीया अन्जु श्रेष्ठ, नातीनी ८ वर्षीया साइना परियार २०७४ सालमा लागि अमेरिका गएका थिए । नाती दुई वर्षका ओम परियार अमेरिका नै जन्मिएका हुन् । 

सन्तोषको चारैजनाको परिवार अमेरिकाको भर्जिनिया शहरस्थित मनासस पार्कको लनायान लेनको ९४०० ब्लकको तलको अपार्टमेन्टमा जुन ५ तारिखमा मृत अवस्थामा भेटिएका थिए । छोराको मृत्यूको खबर सुनेदेखि नै लक्ष्मी असहृय पीडामा छिन् । ‘छोराको अनुहार देख्न पाए, नाती नातिनालाई छुन पाए पनि चित्त बुझ्थ्यो, मुख हेरेर आउँछु भन्दा पनि पाइन,’ उनले भनिन्,‘अहिले भोक निद्रा केही छैन, हामीलाई पीडा नै पीडा दियो, ४ जनाको परिवारमा त्यस्तो घटना भएको छ, आज १३/१४ दिन भयो, के गरौं कसो गरौं सोच्नै सकेको छैन ।’

६० वर्षीया लक्ष्मी परिवारमा बज्रपात परेको बेला नराम्रा खबरले असहृय पीडा भएको बताउँछिन् । ‘राम्रो खबर सुन्न पाइएन, नराम्रा नराम्रा खबरहरु हालेका छन,’ उनले भनिन्,‘अरुको देश के भयो, कसो भएको हो? राम्रोसँग थाह पनि पाएका छैनौं, आफैं जान्छौं भन्दा जान पनि पाइएन, बुझ्न पनि पाइएन ।’ 

मृत भेटिएका चारै जनाको अन्तिम संस्कारको काम पनि हुन नपाएको सन्तोषका बुवा निरबहादुर दमै खातिले बताए । अमेरिकामा नै रहेको कान्छा छोरा सुवासले दाइको शव कुरेर बसेको उनको भनाइ छ । ‘शव नेपाल ल्याउन पनि बेस्सरी खर्च लाग्छ रे, भोलि/पर्सीमा उतै दाहसंस्कार गर्ने कुरो पनि भएको छ,’ निरबहादुरले भने,‘भिसा नलागेर हामी जान पाएनौं, कान्छालाई उतै दाहसंस्कार गरेर आउनु बाँकी काम यहाँ गरौंला भनेको छु ।’

अन्तिम अवस्थामा सन्तानको मुख देख्न नपाउँदा असहृय भएको निरबहादुरले पनि बताए । ‘हामी धेरै पीडामा छौं, घटना त भइहाल्यो यतिका दिनसम्म संस्कारको काम पनि गर्न पाएका छैनौ,’ उनले भने । कान्छा छोरा सुवास र नेपालीहरुको सहयोगमा अन्तिम संस्कारको काम गर्ने तयारी भइरहेको उनले बताए । घटनाको भने अनुसन्धन भइरहेको भन्ने खबर आएको निरबहादुरले बताए । 

‘आफैं हो कि बाहिर मान्छेले त्यसो गरे, शत्रु लागेकी के भयो, यथार्थ जान्न पाए हुने,’ उनले भने,‘त्यहाँको पुलिसले अनुसन्धान गरिरहेको छ अरे, फाइनल हुन जति दिन पनि लाग्न सक्छ भनेर पुलिसले भनेका छन् भन्ने सुनेको छु ।’ प्रहरीले अहिले नै घटनाबारे नबताएको भन्ने जानकारी निरबहादुरले पाएका छन् । 

अमेरिकाको भर्जिनियास्थित मनासस पार्क शहरको एक घरभित्र जेठ २२ गते चार जना नेपाली मुलका नागरिक मृत अवस्थामा भेटिएका थिए । घरधनीले भाडामा बसेका व्यक्तिहरुसँग सम्पर्क हुन नसकेको भन्दै प्रहरीलाई खबर गरेपछि खोजतलासको क्रममा अपार्टमेन्टमा प्रवेश गर्दा गोली लागेर मृत्यू भएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलबाट एक थान बन्दुकसमेत बरामद भएको खबर सार्वजनिक भएको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकाको मनासस पार्कमा घरभित्रै मृत भेटिए चार जना नेपाली

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully