नवलपरासी — दाउन्नेको हिलोमा ग्राभेल राखेर संचालन गरिएको यातायात फेरि बन्द भएको छ । दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक र ६५ मोडमा गाडी फसेर यातायात बन्द भएको हो ।
नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले राजमार्ग खुलेको आधा घण्टामै फेरि गाडी फसेर दाउन्नेमा राजमार्ग बन्द भएको जानकारी दिए । 'दिनभरि डेढ सयभन्दा धेरै प्रहरी खटाएर आफै ग्राभेल हालियो केहीबेर खुल्यो फेरि बन्द भयो,' उनले भने, 'राजमार्ग निर्माण गर्ने काम सडक विभागको हो । सडक विभागले काम नगरेका कारण प्रहरी खटाएर १० टिप ग्राभेल हालेर खुलाइएको राजमार्ग फेरि बन्द भएको छ ।' दाउन्नेको उकालोमा चप्लिएर गाडी जान सक्दैन । सडक कार्यालयले काम गर्दैन । यात्रुहरुको सुविधाका लागि प्रहरी २४ घण्टा खटेको ढकालले सुनाए ।
दाउन्ने र दुम्कीवास क्षेत्र पर्ने बिनयी त्रिवेणी गाउँपालिकाका प्रमुख घनश्याम गिरीले बिहीबार दिउँसो बुटवल-नारायणगढ सडक आयोजनाका प्रमुख इन्जिनियर चुडाराज ढकालले जिल्ला प्रशासान कार्यालयमा भएको बैठकमा दाउन्नेमा ५ सय ट्रिप ग्राभेल हालेर भए पनि राजमार्ग खुलाउने भनेर भाषण गरेर गए पनि ठेकेदारले एक चम्चा पनि ग्राभेल नहालेको सबै प्रहरीले समन्वय गरेर काम गरेका सुनाए ।
