गण्डकीको बजेटमा ९ लाख रुपैयाँ त्रुटि

असार ४, २०८२

अनुप पौडेल

9 lakh rupees error in Gandaki's budget

कास्की — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटको आम्दानी अंकमा त्रुटि भेटिएपछि सच्याइएको छ । असार १ मा प्रदेश सभामा प्रस्तुत बजेटमा ९ लाख रुपैयाँ हिसाब मिलेको थिएन ।

आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेटमा दुई वटा बुँदामा भएको त्रुटि बुधबारको प्रदेश सभा बैठकमार्फत सच्याएका छन् । उनले बजेट भाषणमा भएको त्रुटि सच्याइएको र अर्को बजेट वक्तव्य सबै सांसद्लाई उपलब्ध गराइएको जानकारी गराए । आन्तरिक राजस्वबाट अनुमानित आय ५ अर्ब ४५ करोड ९३ लाख ८८ हजार हुनुपर्नेमा बजेट वक्तव्यमा ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार भएको थियो ।

आम्दानीतर्फ वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ७३ करोड ८९ लाख, सशर्त अनुदानबापत ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबापत ६३ करोड ९७ लाख, विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख थियो । राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, आन्तरिक आम्दानीबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार, चालु आर्थिक वर्षको बजेटबाट २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान गरिएको थियो । आम्दानीका यी सबै आधार जोड्दा ३१ अर्ब ९७ करोड ९० लाख ९९ हजार हुन्थ्यो ।

मन्त्री गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । खर्च र आम्दानी बराबर हुनुपर्ने भएपनि खर्चभन्दा आम्दानी हुने रकम ९ लाख रुपैयाँ कम भएको थियो ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई विनियोजन गरिएको बजेटमा पनि त्रुटि भएपछि त्यसलाई सच्याइएको छ । मन्त्रालयका लागि ३ अर्ब ८८ करोड ५१ लाख हुनुपर्नेमा अन्यथा भएको अर्थमन्त्री गुरुङले बताए । असार १ मा प्रस्तुत बजेटमा उक्त मन्त्रालयलाई ३ अर्ब ८८ करोड ८१ लाख विनियोजन गरिएको थियो । समय अभावको दबाब र प्रदेश बजेट सूचना प्रणालीका कारण त्रुटि भएको उनले बताए । 

अनुप

Link copied successfully