गण्डकीमा प्रदेशमै लाइसेन्स छाप्न १० करोड बजेट

असार १, २०८२

कान्तिपुर संवाददाता

10 crore budget to print licenses in the state in Gandaki

कास्की — गण्डकी सरकारले प्रदेशमै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने कामका लागि बजेट विनियोजन गरेको छ ।

लाइसेन्स छपाइको काम प्रदेशबाटै गर्न आगामी आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिलामन्त्री टकराज गुरुङले आइतबार बजेट भाषणमार्फत सार्वजनिक गरे । लाइसेन्स छाप्न प्रयोग हुने मेसिन र अन्य आवश्यक सामग्री खरिद गर्न यो बजेट राखिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बताए । 

प्रदेशलाई लाइसेन्स छपाइको अधिकार दिन संघ सरकारका यातायातमन्त्री पनि सकारात्मक रहेको उनले दाबी गरे । ‘संघ र प्रदेशका यातायातमन्त्रीको बैठकमा मैले नै यो कुरा राखेको थिएँ । अरुले पनि सहमति जनाउनुभयो । संघको मन्त्री पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

स्वदेशी एपलाई प्राथमिकता दिएर राइड सेयरिङ नियमन तथा व्यवस्थापन गर्ने घोषणा सरकारले गरेको छ । सार्वजनिक यातायात व्यवसायीको दबाबपछि राइड सेयरिङ नियमावली कार्यान्वयनबाट एक महिनालाई पछि हटेको सरकारले जुनसुकै हालतमा कार्यान्वयन गर्ने संकेत गर्दै यो विषय बजेटमै समेटेको हो । 

सवारी साधन कर विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully