नवलपरासी — पटकपटक बिजुली जाने समस्या बढेपछि कावासोतीका स्थानीय बासिन्दाले विद्युत् प्राधिकरण शाखा कार्यालय घेराउ गरेका छन् ।
बिहीबार दिउँसो एक सयभन्दा बढी सर्वसाधारण घेराउ गर्न प्राधिकरण पुगेका थिए । बिनासूचना बिजुली काटेको काट्यै गरिएको भन्दै उनीहरुले कार्यालय प्रमुखको जवाफ मागेका थिए । उनीहरुले बिजुली काट्ने बारेमा अग्रिम सूचना दिनुपर्ने मागसमेत राखेका थिए ।
घेराउमा पुगेका बिनोद काफ्लेले हरेक साँझ १५, २० पल्ट विद्युत् काटिनु प्राधिकरणको लापरबाहीले भएको बताए ।
प्राधिकरण कावासोतीका प्रमुख सूर्य मण्डलले बिहीबार साँझदेखि सुधार हुने भन्दै प्रदर्शनकारीलाई आश्वस्त पारेका थिए ।
स्थानीय बासिन्दाले बुधबार राति १० बजे पनि विद्युत् कार्यालय घेराउ गरेका थिए ।
