गाडी चालकलाई जानकारी हुने ट्राफिक संकेत नहुँदा समस्या
नवलपरासी — बढी तौल बोकेको मालवहाक गाडी गुडाएका कारण करिब एक महिनाअघि भाँच्चिएको चोरमारास्थित गिरुबारी खोला पुलमा अब ४० टनभन्दा बढी तौलका गाडी वारपार गराउन नपाइने भएको छ ।
एक महिना अघि बढी तौल भएका गाडी गुडेकै कारण भाँच्चिएको पुलमा मर्मतपछि शुक्रबार साँझदेखि यातायात सुरु भएको हो ।
मर्मत गरेर सञ्चालन गरिएको पुलमा अबदेखि ४० टनभन्दा बढी तौल बोकेका गाडी गुडाउँदा फेरि पनि पुल भाँच्चिने जोखिम रहेको सडक विभागले जनाएको छ ।
५२ वर्षअघि निर्माण गरिएको पुल अहिले पनि जीर्ण अवस्थामै रहेको भन्दै त्योभन्दा बढी तौल, भारसहितका गाडी लैजाँदा कुनैपनि बेला फेरि पुल भाँच्चिन सक्ने सडक विभागले जनाएको छ ।
सडक विभागले पुलका दुवै किनारमा साइन बोर्ड टाँसेर चोरमाराको गिरबारी खोला पुलमा ४० टनभन्दा बढी गह्रुँगा गाडी लैजान नपाउने जनाउ दिएको छ ।
पुल नजिकै नेपाली भाषामा लेखिएका साना अक्षरमा संकेतले भारतीय गाडीका चालकले नबुझ्ने भएकाले त्यहाँ बढी तौलका भारतीय गाडी आउजाउ हुने सम्भावना कायमै छ । पुलको अन्तिम खम्बा नजिक साना अक्षरमा लेखिएका कारण चालकले थाहै नपाउने अवस्था छ ।
त्यहाँ दिनहुँ ४० टन वा त्योभन्दा धेरै तौल बोकेका भारतीय गाडी आउने गर्छ ।
२ सय १६ मिटर लामो चोरमारा खोलाको फलामे पुल मर्मतसम्भार गरेर यातायात सञ्चालन गरिएपनि जीर्ण पुल भएका कारण जोखिम भने उत्तिकै छ । एक महिना अघि त्यहाँ बढी तौल बोकेका मालवहाक गाडीसहित लामो जाम पर्दा पुल भाँच्चिएको थियो ।
पुल भाँच्चिएको स्थानमा नयाँ फलामे पाता फेरेर आवागमन खुलाइएपनि पुलको अवस्था जोखिमपूर्ण नै रहेको ठेकेदार तारा पौडेलले जानकारी दिए । 'अहिले मर्मत गरिएको बाहेक स्थानमा पुल जीर्ण नै रहेकाले जोखिम उस्तै छ,' पौडेलले भने, 'पूरै पुलमा नयाँ फलामको पाता फेरेको होइन त्यसैले जोखिम बढ्दो छ ।'
पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले गिरबारी पुलको भारवहन क्षमता ४० टन मात्र भएका कारण गह्रुंगा र लामा मालवाहक गाडी एक पटकमा एउटा मात्र वारपार गराउन प्रहरी खटाइएको जानकारी दिए । उनले भने, 'प्रहरी खटाउने हो तर २४ घन्टा त्यहाँ रातो निलो झन्डा बोकेका मान्छे खटाउने जिम्मेवारी सडक विभाग हो । राजमार्ग जाम हुँदा खुलाउने जिम्मेवारी प्रहरीको हो ।' मालवहाक ट्रकलाई अझ केही समय डाइभर्सनबाटै हिँडाइने उनले सुनाए ।
असार तेस्रो साता चोरमारा पुलको नजिकैबाट निर्माण भइरहेको नयाँ पक्की पुल ढलान गरिने सडक विभागले जानकारी दिएको छ ।
महेन्द्रराजमार्गको यो खण्डमा भारतबाट करिब ५०, ६० टन भार बोकेका लामा लरी गाडीसमेत आउजाउ गर्ने गरेका कारण पुल फेरि कतिखेर भाँच्चिने हो भन्ने त्रास कायमै छ ।
