पोखरा — बैजनी रंगको पहिरनमा २० युवती शुक्रबार पोखराको छोरेपाटनमा रहेको मानवसेवा आश्रम पुगे । आश्रममा सडकबाट उद्धार गरिएका महिलाका हात–खुट्टा सफा गरिदिए । नङ काटिदिए । कपाल मिलाइदिए । ‘मेनिक्योर, पेडिक्योर र हेयर कट’पछि मानवसेवा आश्रमका आमा चिटिक्क देखिए ।
पोखरा महानगरपालिकाको सहयोगमा सहायक ब्युटिसियन तालिम लिइरहेका प्रशिक्षार्थी मानवसेवा आश्रममा पुगेका हुन् । विरौटाको ड्रिम ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका उनीहरूले तीन महिने तालिमको अन्तिममा आश्रममा पुगे । मानसिक सन्तुलन गुमाएका, सुस्त मनस्थितिका र असहाय महिलालाई सिंगारे । मेनिक्योर, पेडिक्योर र कपाल काट्न पाएर आश्रमका आमा दंग देखिए ।
ट्रेनिङ सेन्टरकी सञ्चालक एवं प्रशिक्षक शान्ता लामिछानेले आफ्नो जन्मदिन आश्रममा मनाइन् । उनले महिलालाई आवश्यक सेनिटरी प्याड, सरसफाइका सामग्री, दिवा खाजा पनि सहयोग गरिन् । ‘आश्रममा खाद्यान्न, लत्ताकपडा सहयोग प्राप्त भइरहको हुन्छ,’ उनले भनिन्, ‘यहाँ आउँदा आफूले जानेको सीपको उपयोग पनि गर्नुपर्छ भनेर मेनिक्योर, पेडिक्योर र हेयर कट गरिदियौं ।’
२०७४ चैत १७ मा नवौं शाखाका रूपमा छोरेपाटनमा खोलिएको आश्रममा पहिला महिला र पुरुष आश्रित थिए । ०७९ भदौ १३ देखि भने महिला मात्रै राखिएको छ । पुरुषलाई पोखराकै हेमजा शाखामा सारिएको छ । आश्रमको व्यवस्थापन हेरिरहेकी समर्पित अभियन्ता सम्झना गर्तौलाका अनुसार छोरेपाटनमा हाल २५ देखि ८५ वर्षसम्मका ८० जना महिला र १० जना बालबालिका छन् । केही बालबालिका आमासँगै आश्रममा आएका हुन् भने केही आश्रममै जन्मिएका हुन् । ‘महिला र पुरुषसँगै राख्दा समस्या आएकाले पनि छुट्याउनुपरेको हो,’ उनले भनिन्, ‘अहिले पुनर्स्थापित गरेर सीप सिकाउनतिर जोड दिएका छौं ।’ पोखरामा हालसम्म एक हजार जना भन्दा बढीको उद्धार गरेको र तीमध्ये ५ सय जनालाई पारिवारिक पुनर्मिलन गराएको उनले सुनाइन् ।
पोखराको आश्रममा हाल कास्की, तनहुँ, स्याङ्जा, म्याग्दीबाट उद्धार गरेर राखिन्छ । हेमजा शाखामा १ सय ४० पुरुष आश्रित छन् । गोरखा, लमजुङ र बागलुङमा आश्रमको आफ्नै शाखा छ । छोरेपाटनमा भाडाको घरमा आश्रम चलिरहेको छ भने हेमजामा आफ्नै भवन रहेको छ । गण्डकी प्रदेशले आर्थिक वर्ष ०७८/०७९ मा सडक मानवमुक्त प्रदेश घोषणा गरेको थियो ।
आत्मनिर्भर बन्न सौन्दर्यकर्म
पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रको सहयोगमा हाल २० जनाले सहायक ब्युटिसियन तालिम लिइरहेका छन् । ड्रिम ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा सौन्दर्यकर्मी सुनीता गुरुङ र शान्ता लामिछानेले तालिम दिइरहेका छन् ।
प्रशिक्षक गुरुङले आर्थिक अवस्था कमजोर भएका महिलालाई छनोट गरी महानगरले तालिम प्रदान गरेको बताइन् । उनका अनुसार ६५ दिनसम्म ३ सय ९० घण्टा तालिम सञ्चालन हुन्छ । ‘सौन्दर्यकर्मी बन्न यो आधारभूत तालिम हो,’ उनले भनिन्, ‘तालिमपछि स्वयंसेवक रूपमा काम गर्ने र थप तालिम लिएपछि आफैं पार्लर खोल्न सक्ने अवस्थामा प्रशिक्षार्थी पुग्नेछन् ।’ नेल आर्ट, माइक्रोब्लेडिङका लागि भने छुट्टै तालिम लिनुपर्छ । पोखरामा सौन्दर्यकर्मी तालिम लिन बुटवल, काठमाडौं, चितवन लगायत अन्य सहरबाट पनि आउने गरेको उनले सुनाइन् । ‘पोखरामा विशेषज्ञ र अनुभवी सौन्दर्यकर्मी छन्, त्यसैले पनि तालिम लिनेको रोजाइमा पर्छ,’ उनले भनिन् ।
पोखरा–१७ मुस्ताङचोककी १८ वर्षीया रक्षा खाँड ब्युटिसियन तालिम लिइरहेकी छन् । जनप्रिय बहुमुखी क्याम्पस स्नातक पहिलो वर्षमा अध्ययनरत उनलाई सानैदेखि सौन्दर्यकर्ममा लगाव थियो । महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रले तालिममा सहभागिताका लागि आवेदन मागेपछि उक्त अवसरको सदुपयोग गरेको उनले सुनाइन् । ‘मेकअपका सामानबारे जिज्ञासा हुन्थ्यो, अहिले सिक्न आइपुगें,’ उनले भनिन्, ‘तालिमपछि नेपालमै अवसर खोजेर आत्मनिर्भर बन्ने सोचेकी छु ।’
व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सहकार्यमा महानगरले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको बताए । उनका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म ब्युटिसियन, फोटोग्राफी, योग प्रशिक्षक, केयर गिभर, सैलुन, बेकरी, मन्टेसरी, पञ्चेबाजा, पेन्टर, सिटी टुर गाइड, जापानी भाषा तालिमबाट २ हजार भन्दा बढी लाभान्वित भएका छन् । ‘वैदेशिक रोजगारीबाट फर्किएका, युवा, आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘तालिम लिएका ६० प्रतिशतभन्दा बढीले रोजगारी पाएका छन् ।’
