चुमनुव्रीमा वन्यजन्तुबाट बाली जोगाउन सकस

एक दशकयता यस क्षेत्रमा भालु, बाँदर, मृग, झारल, घोरल, नाउरलगायतका वन्यजन्तुले बाली सखाप पारेपछि चिन्तामा किसान

जेष्ठ २४, २०८२

हरिराम उप्रेती

Can protect crops from wild animals in Chumanuvri

गोरखा — जंगली जनावरले बारीका मकै खाएर नोक्सान गर्ने समस्याले चुमनुव्री–४ प्रोककी छेवाङ लामा हैरान छिन् । वर्षमा एक सिजन मात्र खेती हुने प्रोकमा त्यही खेती जोगाउन स्थानीयलाई मुस्किल छ ।

‘सधैंको वर्ष यही समस्या छ, भालु धेरै छ, आएर खेती सबै खाइदिन्छ,’ उनले भनिन्, ‘भालुबाट खेती जोगाउन नसकेपछि कति घरको त बारी बाँझै बनेर जंगल हुन आटिसक्यो ।’

एक दशकयता यस क्षेत्रमा भालु, बाँदर, मृग, झारल, घोरल, नाउरलगायतका वन्यजन्तुले बाली सखाप पार्न थालेको स्थानीय बताउँछन् । वर्षमा एक खेती मात्र हुने गहुँ, जौ, करु, मकै लगायतका अनन्बाली जोगाउन किसानले बारीमा बुख्याचा बनाएर कपडा राख्ने लगायतका गतिविधि पनि गर्दै आएका छन् । तर जुन विधि अपनाएर पनि जंगली जनावरलाई तर्साउन नसकिएको उनले गुनासो गरिन् ।

बाली लगाएदेखि नै जोगाउन गाह्रो भएको चुमनुव्री–५ बिहीकी छिरिङ लामा बताउँछिन् ।  ‘मकै लगाएकै दिनबाट कागले दु:ख दिन्छ, घोरल, झारल, मृग पनि उम्रिएदेखि बारी पस्छन्, पाक्ने बेला बाँदरले हैरान बनाउँछ,’ उनले भनिन् । कतिपय स्थानीय मकै पाक्ने बेला बारीमै बस्ने गरेको उनले बताइन् । ‘यता धान खेती हुँदैन, आलु, सिमी, मकै लगाउने हो,’ छिरिङले भनिन्, ‘कुनै वर्ष त दुईचार डोको मात्र मकै भित्र्याउन पाउँछौं, सबै भालुले खाएर सक्छ, आफ्नो बारीको उब्जनी भित्र्याउन नपाएपछि किनेर खानुपर्छ ।’

दिनमा बाँदर र राति भालु बारी पस्ने गरेको चुमनुव्री–५ का सोनाम लामा बताउँछन् । ‘नौ महिनामा एउटा खेती हुन्छ, त्यही पनि जंगली जनावरले खाइदिएर समस्या पार्‍यो,’ उनले भने, ‘एमक्यापलाई पनि कतिपटक भनिसक्यौं, मार्न पो भएन तर्सने उपाय के हुन्छ, त्यसबारे सोच्नुपर्ने छ ।’

भालुबाट बाली जोगाउन कतिपय खेतीयोग्य जमिनमा तारबार लगाइएको छ । प्रोकमा मात्र खेतीयोग्य जमिनमा ३.२ किलोमिटर तारबार लगाइएको थियो । तारबार लगाउँदा पनि भालु बारी पस्न नछाडेको स्थानीयको गुनासो छ ।

Can protect crops from wild animals in Chumanuvri

वन्यजन्तुबाट बाली जोगाउनका लागि एमक्याप, वडा कार्यालयले बजेट विनियोजन गरेर केही खेतीयोग्य जमिनमा तारबार पनि लगाएका छन् । तारबारमा सामान्य झड्का दिने सोलारमार्फत करेन्ट प्रवाह गरे पनि जंगली जनावर बारी पस्ने समस्या नरोकिएको स्थानीय बताउँछन् । ‘तारबार लगाए पनि तलबाट मिले तलबाट, माथिबाट मिले माथिबाट बारीमा छिरिहाल्दो रहेछ,’ उनले भने, ‘फेरि सबै तारबार लगाउन बजेट पुग्दैन, सबै बारीमा तारबार पनि छैन ।’

जंगली जनावर बस्ती छिर्दा मानव-वन्यजन्तु द्वन्द्व बढेको छ । चरन क्षेत्रमा पुगेका चौंरी लगायतका घरपालुवा जनावरलाई पनि जंगली जनावरले आक्रमण गर्ने समस्या चुमनुव्री–१ साम्दो क्षेत्रमा छ । 

मानव वन्जयन्तु द्वन्द्व रोकमथामको प्रयास भए पनि न्यूनीकरण हुन नसकेको मनास्लु संरक्षण क्षेत्र एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए  । ‘प्रोकको केही क्षेत्रमा तारबार लगाएको, अहिले तारबारले पनि काम गरेन भन्ने किसानबाट गुनासो आएको छ, काठको पोल गाडेर तारबार गरेका थियौं, ती पोल पनि धेरै वर्ष भएपछि मक्किँदै गए,’ उनले भने ।

मानवीय  र पशुधनमा भएको क्षतिको राहत दिन निर्देशिका भए पनि अन्नबालीको क्षतिपूर्तिबापत किसानले राहत भने उपलब्ध हुने गरेको छैन । ‘आन्तरिक रुपमा भए पनि बजेटको व्यवस्थापन गरेर अन्नबालीमा भएको क्षतिको पनि राहत दिन सके किसान समस्यामा पर्ने थिएनन्, यसमा कुनै ठोस निर्णय भएको छैन,’ उनले भने ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully