चालु वर्षको तुलनामा १२ करोड ९५ लाख बढ्यो, दुई पालिकाको वित्तीय हस्तान्तरण घट्यो
लमजुङ — संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा लमजुङका स्थानीय तहलाई ३ अर्ब १७ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा ३ अर्ब ४ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरेको संघीय सरकारले आगामी आर्थिक वर्षका लागि १२ करोड ९५ लाख रुपैयाँ बजेट बढाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार सरकारले आगामी आवका लागि ४ वटा नगरपालिकालाई १ अर्ब ८९ करोड ८४ लाख बजेट विनियोजन गरेको छ । ४ वटा गाउँपालिकालाई १ अर्ब २७ करोड ९२ लाख बजेट विनियोजन गरेको हो ।
बेँसीसहर नगरपालिकालाई सरकारले आगामी आर्थिक वर्षका लागि ५२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा ४९ करोड ३ लाख रुपैयाँ पाएको बेँसीसहरले आगामी आर्थिक वर्षमा ३ करोड ११ लाख रुपैयाँ बढी बजेट पाउने भएका छन् ।
चालु आवमा ४४ करोड ५ लाख रुपैयाँ बजेट पाएको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षमा ४८ करोड ६३ लाख बजेट पाउने भएको छ । चालु आवको तुलानामा आगामी आर्थिक वर्षमा मध्यनेपाललाई संघीय सरकारले ४ करोड ५८ लाख रुपैयाँ बजेट बढी दिने भएको छ ।
राइनास नगरपालिकाले चालु आर्थिक वर्षमा ४३ करोड ९७ लाख रुपैयाँ बजेट पाएकामा आगमी आवमा ४४ करोड ५३ लाख रुपैयाँ बजेट पाउने भएको छ । चालु आर्थिक वर्षको तुलानामा राइनासले आगामी आवमा ५६ लाख रुपैयाँ मात्रै बढी बजेट पाउने भएको छ ।
सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षमा ४४ करोड ५४ लाख रुपैयाँ बजेट पाउने भएको छ । चालु आवमा ४७ करोड ४८ लाख रुपैयाँ बजेट पाएको सुन्दरबजार नगरपालिकाले चालु आगाको तुलानामा २ करोड ९४ लाख रुपैयाँ बजेट कम पाउने भएको हो ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार क्व्होलासोथार गाउँपालिकालाई संघीय सरकारले आगामी आवका लागि २६ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा २४ करोड १३ लाख बजेट विनियोजन गरेकोमा क्व्होलासोथारलाई २ करोड रुपैयाँ बजेट बढाएको हो ।
दूधपोखरी गाउँपालिकालाई चालु आवमा २५ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको संघीय सरकारले आगामी आवका लागि पनि उत्तिकै २५ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थात् बजेटमा घटबढ छैन ।
चालु आवमा ३८ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको दोर्दीमा संघीय सरकारले आगामी आवको लागि ३७ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो चालु आवको तुलानामा आगामी आवको लागि २७ लाख रुपैयाँ बजेट कम हो ।
चालु आवमा ३३ करोड ५ लाख रुपैयाँ बजेट पाएको मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षमा ३९ करोड १५ लाख रुपैयाँ बजेट पाउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाले आगामी आवमा जिल्लामै सबैभन्दा बढी ६ करोड १० लाख बजेट पाउने भएको हो ।
विवरणअनुसार लमजुङका ८ वटा स्थानीय तहमध्ये संघीय सरकारले सुन्दरबजार र दोर्दीमा बजेट घटाएको छ । दूधपोखरीमा घटबढ गरेको छैन । अरु ३ नगरपालिका र २ गाउँपालिकामा बजेट बढाएको छ ।
सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बजेट घटाएर पठाउँदा विकास निर्माण र नियमित कार्यक्रमहरु प्रभावित हुने बताए । ‘बढाउनुपर्नेमा झन् घटाएर पठाएको छ । सोधबुझ गर्दा बजेट कम भयो भन्छ । घटाउनु त नपर्ने हो,’ उनले भने, ‘अब नियमित कार्यक्रम घटाउनुपर्ने भयो । करिब ३ करोड बजेट घटेर आउँदा विकास निर्माण नै प्रभावित हुने भयो ।’
उनले नगरपालिकाले चालु आवमा २ करोड आन्तरिक आय अनुमान गरेकामा हालसम्म १ करोड २१ लाख मात्रै संकलन भएको बताए । ‘न आन्तरिक आय छ । न बजेट बढी दिन्छ । समस्यामा पर्ने भइयो,’ उनले भने ।
