गोरखा — अजिरकोट गाउँपालिका स्थित सिम्जुङ–महभिर–घ्याच्चोक सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ। ७.२ किलोमिटर सडक कालोपत्रेका लागि २०८० असार २० गते ठेक्का सम्झौता गरी काम सुरु भएको थियो ।
आगामी असार सम्म म्याद रहेको सडकको हालसम्म ६.२ किलोमिटर सडक कालोपत्रे सकिएको पूर्वाधार कार्यालय गोरखाकाका प्राविधिक सुनिल कुशवाहले बताए ।
उत्त सडकको भौतिक प्रगति ९१.५ प्रतिशत र वित्तीय प्रगति ९०.३८ प्रतिशत रहेको उनले बताए । कालोपत्रेको जिम्मा एमएस कर्न नवकान्तिपुर जेभिले पाएको छ । ३६ करोड ४७ लाखको लागतमा सडक कालोपत्रे सुरु भएको हो । आगामी असार सम्म सडकको कालोपत्रे सक्ने लक्ष्य रहेको उनले बताए ।
नाला, पर्खाल सहित सडक निर्माण भएको उनले बताए । कालोपत्रे भएसँगै यस क्षेत्रका बासिन्दालाई आउजाउमा सहज वनेको छ । सडकको ट्र्याक खुलेको १२ वर्षपछि कालोपत्रे भएको महभिरका आसमान गुरुङले बताए ।
‘सडक बनेपछि त निकै सजिलो भएको छ,’ उनले भने, ‘सडक नहुँदा पैदल नै सदरमुकामसम्म आउन जान तीन दिन लाग्थ्यो, १२ वर्षअघि कच्ची सडक खुलेपछि धेरै नै सहज भएको थियो, अहिले यही सडक कालोपत्रे हुँदा सजिलो भएको छ ।’ चामल लगायतका उपभोग्य सामाग्री ढुवानीमा पनि सहज वनेको उनले बताए ।
