गण्डकीमा एक वर्षदेखि रिक्त कृषि समिति माओवादीको भागमा

सभापतिमा माओवादी सांसद दमयन्तीको एकल उम्मेदवारी

जेष्ठ २२, २०८२

अनुप पौडेल

In Gandaki since one year vacant agricultural committee on the part of Maoists

कास्की — एक वर्षदेखि रिक्त गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समिति प्रतिपक्षी माओवादीको भागमा परेको छ । कांग्रेस र एमालेले लेखा समिति नदिने अडान राखेपछि माओवादीले कृषि समिति लिनेमा सहमति जनाएको हो । सहमतिअनुसार बिहीबार सभापतिमा माओवादी सांसद् दमयन्ती रुचालको एकल उम्मेदवार परेको छ । 

एमालेले विशेषाधिकार समिति गठन गर्नुपर्ने र उक्त समिति सभापति दिएमा लेखा समिति दिने प्रस्ताव दलबीचको संयुक्त बैठकमा राखेको थियो । तर, माओवादीले त्यो प्रस्ताव अस्वीकार गर्‍यो । यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेखा समितिमा सभापति रहेको र रिक्त समिति लिन माओवादीलाई आग्रह गरे ।

विशेषाधिकार समिति नथपे लेखा समिति नदिने सत्तापक्षको अडानपछि आफूहरू रिक्त समिति सभापति लिन तयार भएको माओवादी संसदीय दल नेता हरिबहादुर चुमानले बताए । ‘खर्च बढी भयो भनेर संरचना खारेज गर्ने अनि समिति थप्ने कुरा कसरी जनतालाई बुझाउनुहुन्छ भनेको थिएँ,’ उनले भने, ‘समिति नथपे लेखा नदिने भन्ने आयो । हामीले त्यो हुँदैन भन्यौं । पछि मुख्यमन्त्रीले रिक्त समिति लिन आग्रह गर्नुभयो ।’

११ सदस्य रहेको कृषि समितिमा कांग्रेसका ६, एमालेका ३ र माओवादीका २ सांसद् छन् । माओवादी दल नेता चुमान पनि सोही समिति सदस्य हुन् । अर्की सांसद् दयमन्ती रुचाल भने सभापति बन्नेछिन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की रुचाल समानुपातिक सांसद हुन् । 

बिहीबार सभापति चयनका लागि मनोनयन दर्ताको तालिका थियो । दमयन्तीको प्रस्तावक कांग्रेसका महेश भट्टराई र समर्थक एमालेका लिलबहादुर थापा मगर छन् । शुक्रबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । 

माओवादी  संसदीय दलका सदस्य रहेका नेसपा नेता फणीन्द्र देवकोटा गत वर्ष जेठ ३० मा मन्त्री बनेयता उक्त समितिको सभापति पद रिक्त छ । कृषि र लेखा समिति एमाले र माओवादीबीच कसले लिने भन्नेमा सहमति जुट्न सकेको थिएन । एमालेले लेखा समिति छोड्ने तर त्यसको सट्टामा संविधानको धारा १८७ ले व्यवस्था गरेको विशेषाधिकार समिति गठनको माग गरेको थियो । 

सभापति चयन गर्न गण्डकी प्रदेश सभा नियमावली २०८० को व्यवस्था बाधा बनेपछि ७ महिना लगाएर संशोधन गरियो । एक पटकका लागि एक महिनाभित्र सभापति चयन गर्न सकिने व्यवस्था राखेर बाधा अड्काउ फुकाइएको नियमावली गत चैत २६ मा संसद्‌बाट पारित भएको थियो ।

सभापति रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेकोमा एकपटकका लागि ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त नियमावली प्रमाणीकरण भएर वैशाख २५ मा प्रदेश राजपत्रमा प्रकाशन भएको थियो । जेठ २५ भित्र सभापति चयन भइसक्नुपर्ने बाध्यात्मक व्यवस्था भएपछि अन्तिममा माओवादीले कृषि समिति लिने सहमति दलबीच भएको हो ।

सभापति फणीन्द्र देवकोटा मन्त्री बनेदेखि समितिको बैठक ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीको अध्यक्षतामा बस्ने गरेको छ । गत असारमा सरकार गठनको विषय सर्वोच्च अदालत पुगेपछि समयमै संसदीय समिति सभापतिको निर्वाचन हुन सकेको थिएन ।

माओवादीले देवकोटालाई गरेको कारबाही सर्वोच्चले बदर गरिदिएको थियो । सर्वोच्च अदालतबाट विवाद समाधान भएर असार १६ मा नेपाल समाजवादी पार्टीनिकट देवकोटा दोस्रोपटक मन्त्री बने । त्यसपछि सभापति चयन गर्न नियमावलीको १५ दिने समयको व्यवस्था टरिसकेको थियो । त्यसपछि नियमावली संशोधन गर्न गत वर्ष भदौ २६ मा ४ सदस्यीय संशोधन मस्यौदा समिति गठन गरियो । उक्त समितिले बाधा अड्काउ फुकाउने गरी ल्याएको संशोधित नियमावली हाल कार्यान्वयनमा छ । 

गण्डकी प्रदेशसभाका ४ मध्ये अर्थ विकास समिति र प्रदेश मामिला तथा कानुन समितिमा नेपाली कांग्रेसको नेतृत्व छ । भोजराज अर्याल अर्थ विकास समिति र चम्पादेवी खड्का प्रदेश मामिला समिति सभापति छन् । एमालेका सुधिरकुमार पौडेल लेखा समिति सभापति छन् । 

अनुप

Link copied successfully