नवलपरासी — बढी तौल बोकेको ट्रक गुडाएका कारण भासिएको चोरमारा पुल मर्मत गरेर भोलिबाट यातायात सञ्चालन हुने तयारी छ ।
पुल निर्माण कम्पनी जलप नेपालका सञ्चालक तारा पौडेलका अनुसार बुधबार साँझसम्म यातायात सञ्चालन हुनेछन् । करिब एक महिनाअघि भाँच्चिएको पुल मर्मत गरेर आवतजावत गर्न मिल्ने बनाइएको पौडेलले जानकारी दिए । २ सय १६ मिटर लामो फलामे पुल ५२ वर्षअघि निर्माण गरिएको थियो ।
महेन्द्र रामार्ग निर्माण गर्दा बनाइएको जीर्ण पुलमा हाल बढी तौल भएका गाडी र ओभरलोभ सामान बोकेका ढुवानीका साधन ओहोरदोहोर गर्दा भास्सिने जोखिम उत्तिकै छ ।
यता चोरमारादेखि पश्चिम दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएको ६ महिना बितिसम्दा पनि मर्मत हुन सकेको छैन । त्यहाँ डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ । एक साताअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको थियो ।
