भरतपुर महानगर र बागलुङको ताराखोलाबीच भगिनी सम्बन्ध

जेष्ठ २०, २०८२

प्रकाश बराल

A sister relationship between Bharatpur metropolis and Tarakhola in Baglung

बागलुङ — बागलुङको ताराखोला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक (हिमाल) र भरतपुर महानगरपालिका प्रमुख रेणु’ दाहालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ताराखोला गाउँपालिका कृषि र लघु उद्योगमा आत्मनिर्भर पालिका हो । यहाँ आलु, साग, सिमी, च्याउ , मुला लगायतको तरकारी उत्पादन हुन्छ । किसानले आलु पोखरा, काठमाडौं र बुटवलसम्म बिक्री गर्छन् । व्यवसायिक अलैची उत्पादन सुरु भएको छ । अल्लो, ढाका बुनाइ र नेपाली कागज उत्पादनमा अब्बल मानिन्छ । त्यस बाहेक ताराखोलामा झण्डै दुई दर्जन ढुंगा उद्योग समेत संचालनमा छन् । ताराखोलामै आधादर्जन जलविद्यूत आयोजना समेत छन् । केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधिन छन् ।

ताराखोलामा दर्जनौं संस्कृतिहरु समेत छन् । सिस्नो खोस्ने, छापो हाल्ने, भुस पोल्ने, असारे मेला लगायतका पर्व पनि मनाइन्छ । तारखोला र भरतपुरले आफ्नो काम गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग र प्रभावकारी सेवा प्रवाह गर्ने सहमति पनि गरेको बिकले बताए । 

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ६, दफा २६ को (ट) मा भगिनी सम्बन्ध स्थापना गर्नसक्ने व्यवस्था छ । दुवै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दमकल, एम्बुलेन्स सेवा, बस्ती विकास, प्रविधि, संस्कृति र उद्यम विकासका लागि बजार व्यवस्थापनमा सहकार्य गर्ने सम्झौता गरेका हुन् । भौतिक तथा आर्थिक विकासमा सहयोग र अनुभव आदानप्रदान गर्ने पनि उनीहरुको सम्झौतामा उल्लेख छ ।

पर्यटकीय स्थलको प्रचार प्रसारमा दुवै पालिकाले काम गर्नेछन् । उत्पादित मौलिक कृषि उपजको बजारीकरणमा दुवै पालिकाको सहकार्य हुने बताइएको छ । ताराखोलामा लिमे तथा पाराकोटे भैसी पालन, भेडा बाख्रा समेत पालन गरिन्छ । यहाँ अधिकांश बसोबास मगर र दलित समुदायको छ । 

यो सम्बन्धले दुवै पालिकाको दीर्घकालीन विकासमा नयाँ ढोका खोलेको बिकले बताए । ‘महानगर र सानो गाउँपालिकाले पनि भगिनी सम्बन्ध कायम गर्न सक्छ भन्ने यो विश्वास हो,’ बिकले भने,‘सम्बन्धको प्रतिफल जनताले छिट्टै पाउनेछन् ।’ 

दाहालले पनि स्थानीय तहबीचको सहकार्यले दीर्घकालीन विकासका बाटोमा हिँड्न सहयोग पुग्ने बताइन् । उक्त सम्झौताका लागि बिकसहित वडा अध्यक्षहरु, प्रशासकीय अधिकृत सहितको टोली भरतपुर गएको थियो ।

नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको जनजागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता ताराखोला एक दिन बस्न पुगेका थिए । उक्त अवसरमा बिकले पालिकाको तर्फबाट दाहाल सहितका नेतालाई स्वागत गरेपछि लगत्तै यो भगिनी सम्बन्ध सुरु भएको हो । भरतपुरकी मेयर दाहाल पुत्री हुन् । ताराखोला र भरतपुरमा लगातार दुवै स्थानीय तह माओवादी केन्द्रका उमेदवारले जितेका छन् । 

यसअघि ताराखोलाले गुल्मीको धुर्कोट गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । ती पालिकाले पनि आपसी भ्रमण, विकास निर्माणको काममा सहकार्य तथा उत्पादनको आदानप्रदान गर्दै आएका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully