मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

जेष्ठ १९, २०८२

रासस

Snow leopard survey in three municipalities of Mustang

मुस्ताङ — मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका  हुन् । 

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको  बताए। 

यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको गरिएको छ ।  समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो । 

एक्यापले राखेको क्यामेरामार्फत हिउँ चितुवालगायत अन्य वन्यजन्तुको गतिविधि क्यामेराले रेकर्डमा राख्ने सुविधा रहेको कार्यालय प्रमुख गुप्तको भनाइ छ । क्यामेरामा वन्यजन्तुको श्रव्य दृष्य रेकर्ड राख्ने प्रविधि भएकाले हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणमा सहज हुने कार्यालय प्रमुख गुप्ताले बताए। 

एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेंक र मार्फाको बतासे लेंक लगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमन गर्न क्यामेरा ट्यापिङ सुरु गरेको एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले जानकारी दिए। 

सर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गर्ने गरी व्यवस्थापन गरेको वन रेञ्जर ओलीको भनाइ छ । यसरी सर्वेक्षणका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दुरीमा राखिएको उनले बताए। 

एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको सर्वेक्षणका अलवा आहार प्रजाति र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई क्यामेरा ट्यापिङमार्फत अध्ययन गर्ने जनाएको छ ।

क्यामेरा ट्यापिङमार्फत आहार प्रजातिको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने वन रेञ्जर ओलीले बताए। यसका साथै हिउँ चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण गरी हिउँ चितुवाको वास्तविक तथ्य पत्ता लगाइने वन रेञ्जर ओलीको भनाइ छ ।

एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि दर्जनौँ क्यामेरा राखेर ट्यापिङ गरेको थियो । तल्लो मुस्ताङमा गत वर्ष आशिंक क्यामेरा ट्यापिङ गरिएकाले यसवर्ष विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको एक्याप जोमसोमको भनाइ छ ।

रासस

Link copied successfully