लमजुङमा पर्यटक बोक्ने गाडीमा समेत अवरोध

जेष्ठ १९, २०८२

आश गुरुङ

In Lamjung, vehicles carrying tourists are also blocked

लमजुङ — आन्दोलनरत सार्वजनिक सवारी व्यवसायीले लमजुङमा पर्यटक बोक्ने गाडीसमेत रोकेर अवरोध गरेका छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटक बोकेको गाडी उनीहरुले बेंसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डको बेंसीसहर नगरपालिका-६ चनौटेमा रोकेका हुन् ।

आन्दोलनरत व्यवसायीले आइतबार डुम्रे–बेंसीसहर सडकको लमजुङ खण्डमा पर्ने बेंसीसहर नगरपालिका-१, आकाशेडाँडामा नेपालीलाई बोकेको भन्दै हरियो नम्बर प्लेटको सवारी साधनमा रोक लगाएका थिए । प्रहरीले भनेपछि मात्रै हरियो नम्बर प्लेटको स्कोरपियो छाडेको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।

व्यवसायीले आइतबार डुम्रे–बेंसीसहर सडकको तनहुँ सिमाना पाउँदी, सिउँडीबार, उदिपुर, आकाशेलगायत ठाउँमा सवारीसाधनलाई रोकेका थिए । निजी सवारीमा आएकाहरुलाई फर्काइएको थियो भने केहीलाई धम्क्याइएको थियो ।

सोमबार मनाङतर्फ जाने सडक चनौटेमा उनीहरुले अवरोध गरेका छन् । उनीहरुले खुदी–भुलभुले चल्ने सवारीसाधन साथै अटो (टेम्पो) समेत सञ्चालन गर्न दिएका छैनन् ।

बस व्यावसायीले डुम्रे–बेंसीसहर सडक खण्ड हेर्ने र मनाङतर्फ जिप व्यावसायीले हेर्ने उनीहरुबीच सहमति भएको छ । जिप व्यावसायीले पर्यटक चढेको सवारीमा समेत अवरोध गर्न थालेपछि एकजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए । ती व्यवसायीलाई छोड्ने सहमतिपछि पर्यटक चढेको स्कोरपियोलाई छाडिएको हो ।

मनाङतर्फ जिप चलाउँदै आएका व्यवसायीको संस्था मर्स्याङ्दी यातायात ट्रान्सपोर्ट कम्पनी प्रालिका अध्यक्ष किशोरकुमार बस्नेतले बाध्य भएर व्यवसायीहरु सडकमा निस्किएको बताए । ‘हाम्रो आन्दोलनमा पर्यटक बोक्ने सवारीसाधनलाई रोक्ने भन्ने छैन । कतिपय साथीले रोकेको जानकारी आयो । हामीले पछि छोडेका छौं,’ उनले भने ।

लमजुङमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, लमजुङ कालिका यातायात प्रालि, नेपाल माइक्रो तथा बस कम्पनीका सवारीसाधनका सबै सवारी चलेका छैनन् । लमजुङ कालिका यातायात प्रालिका अनुगमन संयोजक टसबहादुर गुरुङले सबै सार्वजनिक सवारी साधन नचलेको र चल्न नदिएको बताए ।

ट्राफिक प्रहरी प्रमुख सइ भीमबहादुर रानाभाटका अनुसार व्यवसायीले सडकमै निस्किएर चल्दै गरेको सवारीसाधन रोकेका छन् । व्यवसायीसँग समन्वय गरेर सार्वजनिक सवारीबाहेक अरु सञ्चालनका लागि सहयोग समन्वय गरिएको उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully