बागलुङ — जैमिनी नगरपालिकाले हाल नगरपालिका केन्द्रदेखि जैमिनीधाम जाने सडकछेऊमै फोहोर फालेको छ। यो फोहोरले ठेउलेखोला प्रदुषित बनेको छ। उक्त फोहोर बगेर जाँदा कालीगण्डकीमा समेत असर पर्छ ।
जग्गा नपाएपछि नगरपालिकाले फोहोर व्यवस्थापनमा चुनौती व्यहोरेको धेरै वर्ष भयो । निर्माणाधिन कुश्मीसेरा जैमिनीधाम सडक चौडा पार्दा फोहोरले सडकमा यात्रा गर्नेलाईपनि असर पर्न थालेको स्थानीयले गुनासो गरे ।
हाल जैमिनी धाम देखि कुश्मीसेरा जाने सडक निर्माणाधिन छ । सडक चौडा र स्तरीय बनाउने क्रममा उक्त फोहोर फाल्ने स्थानपनि भत्किएको छ । अब फोहोरको व्यवस्थापनमा नगरपालिकालाइ थप चुनौती थपिएको छ । सडक चौडा पार्दा फोहोर सबै खोलामा जाने खतरा छ ।
फोहोरको व्यवस्थापनकालागि पहल भैरहेपनि व्यवस्थापनमा ढीलाई भएको नगर प्रमुख नरबहादुर पुनले बताए । ‘हामीले जग्गा त हेरिसकेका छौं, सुरक्षित स्थान पनि छ, तर नगरको नाउँमा पास गर्न अप्ठ्यारो भयो’ पुनले भने, ‘उक्त जग्गामा सडक पनि लैजादै छौँ।’
नगरपालिकाको वडा नं ५ मा रहेको खोंचमा जग्गा व्यवस्थापन भैसकेको उनले बताए । औपचारिकता दिन बाँकी हुँदा फोहोर फाल्न ढिला भएको हो । ‘तत्काल फोहोरको दुर्गन्ध पनि नआउने, खोला र सडकमा पनि फाल्नु नपर्ने स्थान भेटेका छौं, त्यसलाई औपचारिकता दिन बााकी छ,’ पुनले भने, कम्तिमा ३० वर्षका लागि ४ रोपनी जमिनको व्यवस्थापन भएको हो ।’ थप जग्गा नगरकै नाउँमा किन्ने प्रकृया भने लामो भएको हो । उक्त जग्गा थोरै भएकोले थप खोजी भइरहेको पुनले बताए ।
फोहोर व्यवस्थापन र औद्योगिक ग्रामकालागि नगरपालिकाले तीनबर्षदेखि जग्गाको खोजी गरिरहेपनि ढीला भएको थियो ‘हामीले फोहोर व्यवस्थापन र औद्योगिक ग्राम बनाउने सपना देखेर जग्गाकै व्यवस्थगापनमा लागेका छौं, तर जग्गाको व्यवथापनमा चुनौती भयो’ उपप्रमुख हरिहर शर्माले भने, ‘एकमुष्ठ जग्गा नपाउदा रकम भएर पनि खर्चन पाएनौं ।’ औद्योगिकग्रामकालागि कम्तिमा ३५ देखि १ सय रोपनी र फोहोरकालागि १५ रोपनी जमिन चाहिएको हो ।
सानो खोंचमा बसेको कुश्मीसेरामा नगरको मुकाम छ । स्थानीयले दिएको जग्गामा प्रशासकीय भवन बन्दैछ । ठेकेदारको लापरबाहीले गत माघमा म्याद सकिंदा भवनको ५० प्रतिशत मात्रै काम पुरा भएको छ । अन्य योजनाकालागि जग्गा खोज्दा नपाएपछि नगर कार्यपालिकाको टाउको दुखाइ भएको हो ।
जैमिनीमै निर्माण गर्न लागिएको नेपाल बिद्युत प्राधिकरणको सवस्टेशन, प्रहरी चौकी लगायतको काममा समेत जग्गा नै बाधक बनेको नगरप्रमुख पुनले बताए । ‘सानो ठाउँ छ, कसैले जग्गा दिंदैनन्, किन्नै खोज्दा पनि पाउन मुस्किल छ, प्रक्रिया पनि लामो छ । त्यसैले हाम्रा अधिकांस योजनामा असर परेको छ’ पुनले भने, ‘पाखो क्षेत्रमा पुग्दा पनि सरकारी बजेट हो भनेर मनलाग्दी मूल्य भन्छन् ।’ उनले उचित जग्गा पाएमा केही देखिने काम गर्न सकिने लक्ष्य सुनाए ।
