लमजुङ — नेपाल तरुण दल लमजुङको पाँचौ अधिवेशनका दिन जेठ ३ गते भएको झडपमा खुकुरी प्रहार गर्ने एकजनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मध्यनेपाल नगरपालिका ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार पक्राउ गरिएका युवकलाई लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा बुधबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
बेंसीसहर नगरपालिका-८, प्रगतिटोलस्थित प्रगतिटोल तमू सामुदायिक छोंजधीं को कम्पाउण्डबाहिर भएको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको भनी उजुरी परेका धनबहादुर तामाङ, गणेश गुरुङ, कुमराशी गुरुङ (भूपेश) र होमराज घले गरी ४ जना फरार छन् ।
खुकुरी प्रहारबाट बेंसीसहर नगरपालिका-९ का वडाध्यक्षसमेत रहेका तरुण दल लमजुङ प्रदेश नम्बर ‘२’ का क्षेत्रीय सभापति खुशीजङ गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी चितवमा उपचारपछि घर फर्किएका छन् । घाइते तरुण दल लमजुङका सदस्य शंकर सापकोटा र कांग्रेस जिल्ला कार्यसमिति सदस्य किशोर बस्नेत भने बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार गरी घर फर्किएका थिए ।
तरुण दल लमजुङको अधिवेशन चल्दै गर्दा पार्टी सभापति डा. टकराज गुरुङ (गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री) पक्षका युवाले पार्टी निवर्तमान सभापति भेषबहादुर पौडेल (गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री) पक्षका युवामाथि कार्यक्रमस्थलबाहिर खुकुरी प्रहार गरेका थिए ।
तरुण दल लमजुङमा पूर्णकालीन सदस्यबारे विवाद रहेको र भेषबहादुर पौडेलपक्षले विवाद सुल्झाएर अधिवेशन अघि बढाउन भन्दै कार्यक्रममा नाराबाजी गरेका थिए । नाराबाजीपछिको झडप हुँदा गुरुङपक्षका युवाले पौडेलपक्षका युवालाई गेटबाहिर खुकुरी, रडलगायत प्रहार गरेको प्रहरीले जनाएको छ ।
