रणनीतिक सडकको बेहाल : म्याद सकिएको ४ वर्षपछि ७८ प्रतिशत मात्रै प्रगति

ठेकदारको लापरबाही, समयमा बजेट निकासा नहुने र पहिरो नियन्त्रणमा समस्या पर्दा बागलुङको गलकोटदेखि ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक अझै पूरा भएन 

जेष्ठ १२, २०८२

प्रकाश बराल

Condition of strategic roads: Only 78% progress after 4 years of expiry

बागलुङ — तोकिएको समयमा काम हुँदो हो त यहाँको रणनीतिक सडक चार वर्षअघि नै कालोपत्र भइसक्थ्यो । ठेकदारको लापरबाही, समयमा बजेट निकासा नहुने र पहिरो नियन्त्रणमा समस्या पर्दा बागलुङको गलकोटदेखि ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक अझै पूरा भएको छैन । 

४० किमि सडकखण्ड मध्ये पहिलो चरणमा निर्माण थालिएको ११ किमि खण्डको पनि काम पूरा नभएको हो । रुम जोड्ने रणनीतिक सडकमा स्तरोन्नतिसहित कालोपत्र सुरु भएको छ । तोकिएको समय सकिएको चार वर्षपछि पनि यो सडकको ७८ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय बागलुङका चन्द्रबहादुर पुनले बताए । उक्त योजनामा ७२ प्रतिशत भुक्तानी पनि भइसकेको छ । यो सडक निर्माण भएमा मध्यपहाडी लोकमार्गको गलकोट-खण्डदेखि म्याग्दीको मालिका गाउँपालिकासम्म जोडिनेछ । 

४५ करोड ४७ लाख ५९ हजार रुपैयाँ लागतमा निर्माणाधीन सडकका लागि चालु वर्ष पनि बजेट अभाव भएपछि काम पूरा नहुने अवस्था आएका हो । ‘एमएस एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीले यो सडकमा काम गरिरहेको छ । २०७८ कात्तिक २६ भित्र योजना सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नसकेपछि २०८१ चैत २९ गते सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थप गरिएको थियो । सडकको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति रहेको छ ।

आगामी असार मसान्तभित्र काम सक्ने लक्ष्य भए पनि सम्भावना न्यून रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले बताए । ‘काम सक्ने भने पनि बल्ल पहिरो काट्ने काम थालेको छ, यो वर्ष सकिने अवस्था छैन,’ उनले भने, ‘पहिरो काट्न नसकेसम्म सबै सडक कालोपत्र होला भन्ने लागेको छैन । ताकेता बढाएर पनि काम सम्पन्न हुने अवस्था देखिन्न । बर्सातमा सडक अवरुद्ध नहुने गरी काम गर्न पहल भइरहेको छ ।' यो सडक अवरुद्ध भएमा वर्षामा ताराखोला गाउँपालिकामा यातायात ठप्प हुन्छ । 

सडक सहज बनिसकेको खण्डमा भने ताराखोलामा उत्पादन हुने धेरै उत्पादनले बजार पाउन सहज हुन्छ । ११ किमिमध्ये ६ किलोमिटरमा डीबीएसटी प्रविधिको कालोपत्र गरिएको छ भने ५ सय मिटर सडकमा ढलान गरिएको इन्जिनियर पुनले बताए । बाँकी सडकको साढे ३ किलोमिटर खण्डमा सडक विस्तार, रिटेनिङ वाल, नाली निर्माण गरेर सब–बेस विछ्याउने काम भएको छ । तर कालोपत्र गर्ने काम बाँकी छ । यो सडक बन्दा गलकोटको हरिचौरदेखि ताराखोलाको हिल हुँदै साँघुबोटसम्म सहज बन्नेछ । ताराखोला गाउँपालिकाले चक्रपथमार्फत पालिकालाई यातायातमा जोड्ने योजना पनि यो सडककै कारण ढिलाइ भएको छ । 

योबाहेक काठेखोला गाउँपालिकाको घोडाबाँधेदेखि अर्गल हुँदै ताराखोला जोड्ने सहिद मार्ग पनि स्तरीय बन्न सकेको छैन । बजेट सुनिश्चितता नभएपछि यो सडकको ठेक्का लाग्न नसक्दा वर्षामा पालिका पुग्न कठिन हुने गरेको छ । निर्माणाधीन सडक बनेमा ताराखोलाबाट बिरामीले उपचारका लागि पनि गलकोट जान सहज यात्रा गर्न पाउनेछन् । सदरमुकामतर्फ जाने सडक स्तरीय नबन्दासम्म ताराखोलावासीले सामान्य सेवाका लागि पनि गलकोट जानुपर्ने बाध्यता छ ।

प्रकाश बराल

Link copied successfully