बागलुङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको बताएका छन् । बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताए ।
‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको ताराखोला पुगेका दाहालले ‘जनयुद्ध’का सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले आफ्नो प्रधानमन्त्री कालमा त्यो निर्णय गरेको बताए । त्यसबाहेक जनयुद्धका धेरै उपलब्धि संस्थागत गर्ने काममा पनि माओवादी नेतृत्वको सरकारले नै काम गरेको बताए ।
दाहालले ताराखोला गाउँपालिका–२ को अर्गलमा निर्मित सहिद तथा बेपत्ता पार्कको उद्घाटन गरे । जनयुद्धका सहिद र बेपत्ता परिवारलाई सम्मानसमेत गरे । उनले सहिद परिवारको जगमा नै नेपालको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सहिदलाई बिर्सेजस्तो भएपनि इतिहासले फेरि खोज गर्ने बताए । ‘क्रान्ति सकिएको छैन, त्यसैले इतिहासमा सहिदका चिहान खनेर कंकाल निकालेर पनि सम्मान गर्ने दिन आउँछ,’ उनले भने, ‘धैर्य गरेर सहिदका सपना पूरा गर्न लाग्नुपर्छ ।’
जनयुद्धको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको भन्दै अब राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिमा पनि माओवादीले नै अगुवाई गर्ने दाहालको दाबी छ । काम गर्दागर्दै बहुमतको दम्भ देखाएर कांग्रेस एमालेले माओवादीको सरकार ढलाएको आरोप पनि लगाए । ‘संसारमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कतै छैन,’ उनले भने, ‘सुशासन दिन खोजेपछि भ्रष्टहरूले सरकार ढलाए ।’
उनले जनयुद्धलाई हिंसा र आतङ्क थियो भन्नेहरूले जनयुद्धको गतिमा काम गर्न नसक्नेसमेत ठोकुवा गरे । ‘जनयुद्ध युगान्तकारी परिवर्तनको घटना थियो, सामाजिक समावेशीकरणको लागि महिला, दलित, उत्पीडितले गरेको विद्रोह थियो,’ उनले भने, ‘राजनीतिक रूपमा प्रशिक्षित र सुझबुझपूर्ण आन्दोलन भएकोले देशलाई परिवर्तन गर्न सफल भयौं ।’ उनले जाली र फटाहाहरूले मात्र जनयुद्धको विरोध गरेको टिप्पणी गरे ।
मध्यपहाडी लोकमार्ग छाडेर अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, पम्फा भुसाल, अग्नि सापकोटा, नन्दबहादुर पुन, महासचिव देव गुरुङलगायतका शीर्ष नेता बिहीबार अर्गलको किकल्टा होमस्टेमा बास बसेका थिए । अध्यक्ष दाहालले अलपत्र परेको सहिदमार्ग निर्माण र उद्घाटन भएको सहिद पार्क व्यवस्थापनका लागि बजेट तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने बताए । जनयुद्ध कालमा श्रमदान गरेर बनाइएको ४० किमीको सहिदमार्ग अहिले पनि स्तर उन्नति भएको छैन । उक्त सडकबाट वर्षातमा यात्रा गर्न कठिन छ ।
गण्डकी प्रदेश सरकारको ५६ लाख, ताराखोला गाउँपालिकाको १८ लाख जुटाएर ७४ लाख रुपैयाँमा सहिद पार्क निर्माण भएको हो । झन्डै १५ रोपनी जमिनमा ताराखोला गाउँपालिकाभित्रका सहिदको सालिक निर्माण भएको छ । जनयुद्धकालमा ताराखोलाका २६ जना मारिएका थिए । दुई जना बेपत्ता छन् । उनीहरुको अर्धकदको सालिक निर्माण गरेर पार्कमा राखिएको छ । यहाँ पुग्ने पदमार्ग तथा मोटरबाटो निर्माणमा पनि गाउँपालिकाले लगानी गरिरहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए । ताराखोला गाउँपालिकाले तीन वर्षदेखि सहिद परिवारलाई जीविकोपार्जन गर्न भन्दै मासिक १ हजार भत्ता दिँदै आएको छ ।
स्थानीय बजेटले ठूला योजना भने निर्माण गर्न नसकिएको, अत्यावश्यक काममा लगानी अभाव भएको विकले बताए । गाउँ आएको पार्टीको टिमले आवश्यकता बारे बोल्नुपर्ने र बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । अभियानको क्रममा बिहीबारदेखि माओवादी नेतृत्व बागलुङ प्रवेश गरेको थियो । शुक्रबार काठेखोलाका सहिद परिवार भेटेर पनि दाहालले सम्मान गरेका छन् ।
