स्याङ्जा — कांग्रेस महामन्त्री एवं संघीय सांसद गगनकुमार थापाले स्याङ्जाको अर्जुनचौपारीमा बनेको नवग्रह मन्दिर संरक्षण र प्रवर्द्धनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।
शनिबार नवग्रह मन्दिर दर्शन गरेपछि स्थानीयहरुको श्रमदानबाट यत्रो ठूलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका हुन् । उनी स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन सकेर मन्दिर दर्शनमा गएका थिए ।
महामन्त्री थापाले नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर नेपालमै पहिलोपटक नवग्रह मन्दिर निर्माण गर्न सफल भएकोमा पालिका अध्यक्ष प्रकाश तिवारीलाई बधाईसमेत दिए ।
थापासँगै नवग्रह मन्दिरको दर्शनमा कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा, स्याङ्जाका कार्यबाहक सभापति केदार काफ्ले, विभिन्न पालिकाका प्रमुख र उपप्रमुखलगायत पुगेका थिए ।
नवग्रह मन्दिरको दर्शनपछि महामन्त्री थापा सिरुबारीस्थित होमस्टे पुगेका थिए ।
