गोरखा — गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको घुमाउने रहमा पौडी खेल्न रोक लगाइएको छ । वर्षैपिच्छे घुमाउने रह आसपास पौडी खेल्ने क्रममा मृत्युका घटना बढ्न थालेपछि वडा कार्यालयले पौडी खेल्न रोक लगाएको हो ।
गत शुक्रबार पौडी खेल्ने क्रममा बारपाक सुलकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुश गुरुङको सोही रहमा डुबेर मृत्यु भएको थियो ।
तत्कालका लागि भित्तेलेखन गरेर उक्त क्षेत्रमा पौडी नखेल्नका लागि सचेत गराइएको गोरखा नगरपालिका–१० का वडाध्यक्ष प्रदीप कुँवरले बताए । ‘गर्मीका बेला रह सानो देखे पनि यहाँ घटना भइरहने भयो, वर्षैपिच्छेजस्तो घटना भइरहेकाले पौडी खेल्न रोक लगाएका हौं,’ उनले भने ।
गर्मी बढेसँगै उक्त क्षेत्रमा पौडी खेल्नेहरुको भीड लाग्ने गरेको छ । ‘जोखिम न्यूनीकरणका लागि पौडी खेल्न रोक लगाएका हौं, अहिले भित्तेलेखन भएको छ, अव सूचनामूलक बोर्ड पनि राख्नेछौं,’ उनले भने । प्रहरीसँग पनि समन्वय गरेर उक्त क्षेत्रमा निगरानी बढाउने उनले बताए ।
