'पर्यटन पूर्वाधार विकासमा सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको छ'
नवलपरासी — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा पर्यटन पूर्वाधार विकासमा सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको बताएका छन् ।
'सरकारले होटल, केबुलकार, सत्कार र आतिथ्यमा लगानी गर्न सक्दैन । यसमा निजी क्षेत्रकै भूमिकालाई प्राथामिकता दिँदै आएको छ,' पाण्डेले भने, 'पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न ऐनमा समेत परिमार्जन गर्ने सरकारले गृहकार्य गरिरहेको छ ।' नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकार रेडकार्पेट नै बिछ्याउन तयार भएको उनले बताए ।
पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकालिका डाँडामा पर्यटन व्यवसायी चन्द्रराज ढकालको आईएमई समूहले निर्माण गरेको इला होटल एन्ड रिसोर्ट उद्घाटनमा बोल्दै मन्त्री पाण्डले त्यस्तो बताएका हुन् ।
नेपालमा केबुलकार निर्माण र अतिथि सत्कारका लागि निजी क्षेत्रले होटल व्यवसायमा गरेको लगानी अन्तर्राष्ट्रिय तहको भएका कारण त्यस अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा गरेको लगानीका कारण रोजगारी वृद्धि र आर्थिक समृद्धिमा टेवा पुगिरहेको चर्चा गरे । निजी क्षेत्रले स्वदेशमै लगानी गर्ने वातावरण बनाउन झन्झटिला कानुनी प्रक्रियामा सरकारले सरलीकरण गर्दै लगे वैदेशिक लगानीका लागि पनि सहज हुने उनले बताए ।
