गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलन हुने

वैशाख २७, २०८२

प्रकाश बराल

Gandaki state level judicial conference will be held

बागलुङ — गण्डकी प्रदेशस्तरीय प्रथम न्यायिक सम्मेलन हुने भएको छ । गण्डकीको समृद्धि, पर्यटन, न्याय र शान्ति भन्ने नाराका साथ दुईदिने सम्मेलन हुने भएको हो ।

बागलुङ नगरपालिका न्यायिक समितिको आयोजनामा वैशाख २८ र २९ गते सम्मेलन हुने नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । सम्मेलनमा न्यायिक समितिका अहिलेसम्मको काममा आएका समस्या र समाधानको उपायबारे बहस र छलफल हुनेछ । 

कार्यक्रममा कानुनविद् काशीराज दाहालले न्यायिक सेवा र मेलमिलाप, गण्डकी प्रदेश नीति आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गण्डकीको समृद्धि, पर्यटन, न्याय र शान्ति तथा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले गण्डकी प्रदेशमा न्यायिक कार्यसम्पादनमा एकरुपता विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । 

कार्यक्रममा गण्डकी प्रदेशका ८५ स्थानीय तहका उपप्रमुख, बागलुङका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, पर्वतको कुश्मा, जलजला र म्याग्दीको बेनी नगरपालिकाका प्रमुख र उपप्रमुख पनि सहभागी हुने समितिका सदस्य ज्ञानेन्द्र गौतमले जानकारी दिए । सम्मेलनले बागलुङ घोषणापत्र जारी गर्नेछ । त्यसबाहेक गण्डकी प्रदेश न्यायिक लोगो सार्वजनिक गर्ने तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि हुनेछन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully