बागलुङ — जैमिनी नगरपालिका-३ की अनिषा बिक कक्षा-१० मा पढ्छिन् । उनले विद्यालय बन्द भएको समय पारेर अल्लोको सामान बनाउन सिकिन्। जंगलबाट अल्लो ल्याएर धागो निकाल्ने, धागोको सामग्री बनाउने काम पनि जानेकी छिन्।
उनकै साथी जुना श्रीषले एसईई दिएर बसेको समयमा अल्लोको धागो बनाउन र कपडा बुन्न सिकिन् । अब यो सीपलाई व्यावसायिक बनाउने उनको योजना छ।
बजारमा अल्लोका सामग्री बिक्री गरेर व्यवसाय गर्ने उनले बताइन्। ‘उच्च शिक्षा पनि पढ्ने, पेसा पनि गर्ने योजना छ,’ श्रीषले भनिन्, ‘साथीहरूको समूह बनाएर काम गर्न तयारी छ ।’ हालै उनले सीप सिकेकोले अब व्यवसायका लागि केही लगानीको खोजीमा रहेको उनले बताइन्।
जैमिनी नगरपालिका-३ को दमेक, कालापतल, बनौ, नौलालगायतको बस्तीमा अल्लो धेरै पाइन्छ । संकलन गर्ने सीप भएमा घरमै बसेर व्यावसायिक बन्न सकिन्छ । त्यसका लागि यहाँका केही महिलाहरूले नियमित काम गरिरहेका छन्।
नयाँ पुस्तालाई यो सीप सिकाएर उद्यमशील बनाउन पहल गरेको स्थानीय गंगा घर्ती मगरले बताइन्। ताराखोला-४ की गंगाले नियमित अल्लोको काम गरिहरेकी छिन्। उनले उत्पादन गरेको सामाग्री बजारमा सहजै बिक्री हुन्छ।
उनले प्रशिक्षक भएर स्थानीय किशोरी र युवतीहरूलाई १५ दिनको तालिम दिइन् । जंगलमा पुगेर अल्लो पहिचान गर्ने, अल्लो काटेर कसरी ल्याउने, सुकाउने, पानीमा पकाउने, मकैको पिठोमा मुछेर सुकाउने र त्यसबाट धागो कात्ने काम लामो प्रक्रिया छ । यो प्रक्रियाबारे उनले प्रयोगात्मक रूपमा प्रशिक्षण दिँदा गाउँका २० जनाले काम सिकेका छन् ।
‘उनीहरूले मेहेनत गरेर काम गरिदिए भने लाखौँको धागो उत्पादन हुन्छ,’ घर्ती मगरले भनिन्, ‘बजारमा माग बढी छ, तर उत्पादन दिन सकिएको छैन, नयाँ उद्यमीले काम गरेमा सहजै बिक्री गर्न सकिन्छ ।’ मगर र छन्त्यालको बसोबास भएको जैमिनी-३ मा घरघरै पनि अल्लोको सल, पच्छ्यौरा, झोला र भाँग्रो बिक्री हुन्छ ।
परम्परागत सामग्रीमा उनीहरूको संस्कृति समेत जोडिएकोले नगरपालिकाले युवा उद्यम विकास कार्यक्रम मार्फत यो सहयोग गरिएको नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘हामीले हरेक वडामा युवा उद्यमशीलता र सशक्तीकरणको बजेट राखेर कार्यक्रम गरेका छौँ,’ शर्माले भने ‘कतै ढाका बुनाइ गरिन्छ भने कतै मुढा बुनाइको तालिम पनि चलेको छ ।’
कतिपयले सशक्तीकरण भन्दै बोल्नेकला र कानुनी सचेतनाको तालिम पनि लिएको उनले बताए । वडा ३ कै २० जना युवाले मुढा बनाउने तालिम लिएर काम थालिसकेका छन् । स्थानीय बाँसलाई सदुपयोग गर्दै उनीहरूले मुढा बनाएका हुन् । ग्रामीण क्षेत्रमा घरघरमा मुढाको अत्यधिक उपयोगिता भएकोले तालिम मागेर काम सिकेको स्थानीय स्थानीय शक्तिकला घर्तीले बताइन् ।
ग्रामीण कच्चा पदार्थबाट उत्पादन गर्न सस्तो पनि पर्ने र युवाहरूले आयआर्जन गर्न सक्ने भएपछि यो तालिम दिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले बताए । उद्यमशील बनेपछि रोजगार खोज्दै बजार झर्न नपर्ने स्थानीय एकमाया छन्त्यालको भनाइ छ ।
‘घरको काम भ्याएर पनि मुढा बुनेर कमाइ गर्न सकिने रहेछ,’ उनले भनिन्, ‘डोरी भने बजारबाट मगाएका छौँ ।’ बुन्न सकेमा जति पनि बिक्री हुने उनले बताइन् । नगरपालिकाले स्थानीय स्रोतलाई उपयोग गर्ने खालका मह उत्पादन, आलुको चिप्स बनाउने, बाँकोको गुन्द्रुक बनाउने जस्ता तालिम पनि दिएको छ । कतिपय युवाले अचार लगायतको परिकार बनाएर पनि कमाइ गर्न थालेका छन् ।
बागलुङ उद्योग वाणिज्य संघले गत वर्ष कोसेली घर निर्माण गरेको छ । उक्त घरमा जिल्लाका सबै स्थानीय तहमा उत्पादन हुने सामग्री ल्याएर बिक्री कक्षको रूपमा राख्न थालेको छ । यो कक्षमा जैमिनीका ती सामग्रीले पनि स्थान पाउन थालिसकेका छन् ।
यहाँका पालिकाले उत्पादन गरेर प्याकिङ बनाएका कृषि उपजदेखि अल्लो, ढाका, डालीलगायतका सामग्री समेत कोसेली घरमा राखिएको हो । संघले पाहुनालाई मायाको चिनो दिने काममा पनि ती सामग्री प्रयोगमा ल्याएको छ । त्यसबाहेक जिल्लाका अन्य संघसंस्था, व्यक्तिसमेतले सामग्री सहुलियत मूल्यमा किनेर लैजाने गरेको संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले जानकारी दिए ।
