६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइयो

मनास्लु हिमाल आरोहण दिवसको अवसरमा सामागाउँका तीन जना आरोही सम्मानित

वैशाख २६, २०८२

हरिराम उप्रेती

69th Manaslu Mountain Climbing Day was celebrated

गोरखा — मनास्लु हिमाल आरोहण दिवसको अवसरमा चुमनुव्री गाउँपालिका–१ सामागाउँका ३ जना आरोहीलाई सम्मान गरिएको छ । शुक्रबार ६९ औं मनास्लु हिमाल आरोहण दिवसको अवसरमा मनास्लु हिमाल आरोहण गर्ने मिङमार लामा, डिकी ल्हामु लामा र नाङसल छोटेन लामालाई सम्मान गरिएको हो । उनीहरु तीनै जना सामागाउँका स्थानीयवासी हुन् ।

मनास्लु हिमाल चुमनुव्री–१ सामागाउँमा पर्छ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरे । 

मनास्लु हिमाल आरोहण दिवस शुक्रबार मनास्लु हिमालको काखमा रहेको सामागाउँमा भव्य तवरले मनाइएको मनास्लु संरक्षण क्षेत्र एमक्यापका प्रमुख सन्तोष सेरचनले बताए । दिवसको अवसरमा मेच घुमाई तथा महिला र पुरुषबीच घैंटो फुटाई प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिएको उनले बताए । 

69th Manaslu Mountain Climbing Day was celebrated

१९५६ मे ९ मा पहिलो पटक जापानी नागरिक तोसियो इमानीसी र नेपाली नागरिक ग्याल्जेन नोर्वु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । सन् १९५६ भन्दाअघि पनि मनास्लु हिमाल आरोहणका लागि प्रयास भए पनि सफल हुन सकेको थिएन । मनास्लु हिमाल माउन्ट किलरको रुपमा पनि परिचित छ । १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको आरोहणपछि सेप्टेम्बरमा नेपाल र जापान जापानबीच दौतरी सम्बन्ध कायम भएको थियो ।

पर्यावरणीय दृष्टिले समेत महत्वपूर्ण रहेको मनास्लु क्षेत्रको संरक्षण र प्रवर्द्धनको काम निरन्तर भइरहेको शेरचनले बताए । स्थानीयवासीको सहभागितामा सांस्कृतिक उत्सवमार्फत दिवस मनाउँदा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश पुगेको उनको भनाइ छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully