पर्वतमा एमालेका दुई गुटबीच झडप, प्रदेश सदस्य पौडेलको टाउको फुट्यो

वैशाख २४, २०८२

सुमनजंग थापा

Clash between two factions of UML in the mountains. State member Poudel's head split

पर्वत — पर्वत एमालेको पार्टी कार्यालयमा बुधबार युवा संघको अधिवेशनलाई लिएर दुई पक्षबीच झडप भएको छ । जसमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवं युवा संघका नेता अर्जुन पौडेलको टाउको फुटेको छ । अधिवेशन आज गर्ने र नगर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद चर्किंदै जाँदा झडप भएको हो ।

जिल्लामा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको दुई गुट सक्रिय छ । पूर्वमन्त्री गिरी समूहका सदस्यले राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना समूहका गण्डकी प्रदेश एमालेका सदस्य पौडेलको टाउको फुटाएका हुन् । उनको स्थानीय मेडिकल शान्तिदीपमा प्राथामिक उपचारपछि थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ । 

आज बुधबार एमाले पार्टी कार्यालयमा एउटा पक्षले युवा संघको अधिवेशन आयोजना गरेको थियो । प्रहरीले दिएको जानकारीअनुसार तिमिल्सिना पक्षले अधिवेशन केही समय सार्नुपर्ने भनेको थियो भने गिरी पक्षले आजै अधिवेशन गर्नुपर्ने अडान लिएको थियो । यही विवाद पछि झडपमा परिणत भएको हो । 

गिरी पक्षले युवा संघको अध्यक्ष विनोद थापा भए पनि उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षता र उपसचिव ध्रुव श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सुरु गरेको थियो । पार्टी कार्यालयमा प्रहरीको बाक्लो सुरक्षा घेराबीच तीन तलामाथि बन्द कोठामा गिरी पक्षले कार्यक्रम गरिरहेको छ । तिमिल्सिना पक्षका युवाले अधिवेशन रोक्न माग गर्दै कार्यक्रमस्थलमा पुगेपछि दुई पक्षबीच हानाहान भएको जिल्ला प्रहरी कार्यालय पर्वतका एक प्रहरीले जानकारी दिए ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully