गोरखा — सहिद लखन गाउँपालिका–७ वडागत रुपमा उत्कृष्ट बनेको छ । गाउँपालिकाको आन्तरिक मूल्यांकनका आधारमा वडा नम्वर ७ उत्कृष्ट बनेको हो ।
गाउँपालिकाको उत्कृष्ट वडा छनोट कार्यविधि–२०८१ अनुसार ८५ नम्बर प्राप्त गर्दै उत्कृष्ट बनेको वडा नम्बर ७ ले पाँच लाख अनुदान पुरस्कार पनि पाएको छ । वडाहरुको समग्र कार्य सम्पादन र राजस्व संकलनमा गरेको प्रयासको मूल्यांकन तथा पृष्ठपोषणका आधारमा उत्कृष्ट वडा छनोट गर्ने प्रावधान छ ।
प्राप्त पाँच लाख थप बजेट वडाभित्रको भौतिक पूर्वाधार विकासमा खर्च गर्ने वडाअध्यक्ष शरण श्रेष्ठले बताए । ‘जनप्रतिनिधि र कर्मचारीको टिमवर्कले यो सफलता पाएका हौं,’ उनले भने, ‘उत्कृष्ट वडा बन्दा हौसला थपेको छ ।’ उक्त वडाले चालु आर्थिक वर्ष उपभोक्ता समितिमार्फत सञ्चालन भएको १२ योजनाको काम पनि गत माघमै सम्पन्न गरेको थियो । गत वर्ष पनि वडा नम्बर ७ नै उत्कृष्ट बनेको थियो ।
