गोरखा — पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ठूलो पँधेरा सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको छ । बिहीबार साँझ मृत अवस्थामा चितुवा देखेपछि स्थानीयले डिभिजन वन कार्यालय गोरखामा खबर गरेका थिए ।
वन छेउमा मृत भेटिएको चितुवालाई कार्यालयमा ल्याएर शुक्रबार पोस्टमार्टम गरिएको कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा अर्को चितुवाले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । ‘धेरै कुरा अध्ययन गर्नै बाँकी छ, शरीरमा विभिन्न चोट देखिएकाले ठूलो चितुवाले आक्रमण गर्यो कि भन्ने छ,’ उनले भने, ‘आज बिहान पोस्टमार्टमपछि व्यवस्थापन गर्यौं, रिपोर्ट आएपछि बाँकी कुरो खुल्छ ।’
मृत अवस्थामा भेटिएको चितुवा पाँचदेखि सात महिनाको रहेको उनले बताए ।
