गोरखकालीको दानपेटिकामा दुई लाख ६८ हजार संकलन

कार्यविधि नबन्दा रकम खर्च गर्न समस्या 

वैशाख १७, २०८२

हरिराम उप्रेती

Two lakh 68 thousand collected in the donation box of Gorakhkali

गोरखा — गोरखा दरबार क्षेत्रमा रहेको दानपेटिकामा पाँच महिनाको अवधिमा दुई लाख ६८ हजार रकम संकलन भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यलय, सुरक्षा निकाय र गोरखा दरबार हेरचाह अड्डाको रोहबरमा गोरखा दरवार स्थित गोरखकाली मन्दिरमा रहेको दानपेटिका खोलिएको हो ।

गोरखा दरवार परिसरमा दुई वटा दानपेटिका रहेका छन् । दानपेटिकामा जम्मा भएको रकम एनएमबी बैंकमा रहेको खातामा जम्मा गर्ने गरिएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले बताए । ‘खातामा १२ लाख जति रकम संकलन भइसकेको छ,’ उनले भने, ‘जम्मा भएको रकम पर्व पुजा, सरसफाई लगायतको कार्यमा विशेष निर्णय गरेर खर्च गर्ने गरेका छौँ ।’

दानपेटिकाको रकम खर्च गर्ने कार्यविधि नहुँदा समस्या परेको उनले बताए । हाल गोरखा दरबारका दुई कर्मचारी र प्रशासनले तोकेको प्रतिनिधिको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने गरिएको छ । ‘केही रकम कलेक्सन भएपनि कार्यविधि नहुँदा रकम खर्च गर्न पाएका छैनौँ,’ उनले भने, ‘निकै खाँचो परेको बेला अपिसको बोर्डले विशेष निर्णय गरेर सीमित रकम झिक्नुपर्ने अवस्था छ, कार्यविधि बनिदिएको भए मन्दिरकै कुनै विशेष क्षेत्रमा खर्च हुन्थ्यो, हामीलाई पनि सहज हुन्थ्यो।’

पुरातत्व विभाग संस्कृति मन्त्रालयले कार्यविधि निर्माणका लागि कार्यदल बनाएको जानकारी आएको उनले बताए । ‘कार्यदल बनेको जानकारी आएको छ, कार्यविधि बनेर आइसकेको छैन,’ उनले भने । कार्यविधि विभाग वा मन्त्रालयबाट वनेर आउनुपर्ने उनले बताए । गोरखकाली मन्दिर क्षेत्रमा २०६६ सालबाट दुई वटा दान पेटिका राखेर भेटि संकलन हुँदै आएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully