मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रसारणलाइन विस्तार तीव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ को कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्म १०३ किलोमिटर दूरीमा ३३ केभी प्रसारणलाइन विस्तार अघि बढाएको हो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी क्षमताको प्रसारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले थासाङ–२ को कोवाङसम्म केन्द्रीय प्रसारणलाइनअन्तर्गत ३३ केभी प्रसारणलाइनको पहुँच पुर्याएको छ । अब यसलाई जिल्लाभरि केन्द्रीय प्रसारणलाइनमा जोड्ने गरी योजना अघि बढाइएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापदण्डअनुसार एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म विद्युत् प्रसारण गर्दा ५० किलोमिटरभन्दा बढी दूरी हुन नहुने मान्यता छ । तर कोवाङदेखि कोरलानाका करिब १५० किलोमिटर दूरीमा सिधै ११ केभीको प्रसारणलाइन सञ्चालन हुँदै आएको छ ।
यसै कारण मुस्ताङमा पटक–पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती देखिँदै आएको छ । ११ केभी क्षमताको प्रसारणलाइन मात्रै रहेकाले कुनै एक स्थानमा समस्या आए पूरै जिल्लाको आपूर्ति बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।
विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता गरेको हो । कोवाङदेखि चैलेसम्म र चैलेदेखि चराङसम्म दुई सेसनमा सबस्टेसन निर्माण गरेर ३३ केभी प्रसारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको हो ।
जेभीका प्रतिनिधि इन्जिनियर दीपककुमार मण्डलका अनुसार हालको ११ केभी प्रसारणलाइनलाई पूरै विस्थापित गरेर नयाँ ३३ केभी प्रसारणलाइनको काम अघि बढाइएको छ । ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।
प्याराडाइज हुलास जेकेबी जेभीले पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पीसीसी खन्ने कामसहित करिब ९५ प्रतिशत पोल गाड्ने काम सकिएको जनाएको छ ।
अबको छ महिनाभित्रै प्रसारणलाइनको तार तानेर नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ । कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दूरीमा तार तान्ने काम पूरा भइसकेको छ ।
इन्जिनियर मण्डलका अनुसार, "अहिले जोमसोम र ठिनीलगायतका केही स्थानमा तार तान्ने काम भइरहेको छ । उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल भएकाले अर्को टोली खटाउने तयारीमा छौँ ।"
चराङसम्म ३३ केभी प्रसारणलाइनको काम सकिएलगत्तै परीक्षणस्वरूप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गरिने योजना छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड–१ चराङमा गरी दुई वटा सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान एक वर्षअघि नै गरिसकेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिएका छन् ।
सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसमेत भइसकेको अध्यक्ष विष्टले बताएका छन् ।
