ढोरपाटनदेखि बुकीपाटनसम्म घोडाको सवारी

वैशाख १४, २०८२

प्रकाश बराल

Horse riding from Dhorpatan to Bukipatan

बागलुङ — ढोरपाटन उपत्यकामा घुम्न आउने पर्यटकलाई घुमाउन उनी बिहानै घोडा लिएर हाजिर हुन्छन् । पर्यटकको चाहना अनुसार नजिकै घुम्ने, निसेलढोर र जलजला लैजाने वा बुकीपाटन पुग्ने उनको दैनिकी हो । उनले देखाउने विभिन्न ऐच्छिक योजनापछि पर्यटकको चाहना अनुसार नै घोडा चढाएर डुलाउने काम गर्छन् ।

ढोरपाटन उपत्यकाबाट बुकी जानुपरे बिहान ६ बजे नै यात्रामा निस्कनुपर्छ । बुकी पुगेर राति अबेर मात्रै फर्कन सकिन्छ । ४ हजार मीटरसम्मको उचाईमा जानुपर्ने भएपछि बुकीपाटनका लागि चाहिने कपडा, लेक लागेमा के गर्ने त्यसको तयारीबारे पनि उनले प्रष्ट्याउँछन् । 

बुकीपाटनको प्याकेजमा उनले पर्यटकबाट ४ हजार ५ सय रुपैयाँ लिन्छन् । एयरपोर्ट आसपास घुमेको २ सय रुपैयाँले पनि पुग्छ । नजिकका गन्तव्यमा भए १ हजार रुपैयाँमा घोडा चढेर घुम्न पाइन्छ ।

ढोरपाटन नगरपालिका वडा नं ९ का ५० वर्षका यामबहादुर विकले २५ वर्षदेखि घोडा पालेर पर्यटकलाई चढाउने, सामान ओसार पसार गर्ने काम गर्दै आएका छन् । सिकार आरक्ष स्थापना पछि यहाँ स्थानीय र स्वदेशी पर्यटकहरु आउनेक्रम बढ्दो छ । पूर्वाधार अभावमा कतिपय पर्यटक ढोरपाटन पुग्न सक्दैनन् । हिँड्नै नसक्नेलाई उनले बुर्तिवाङदेखि ३६ किमी यात्रा घोडामा सवार गराउने गरेका छन् । वर्षातमा गाडी नचल्दा, जनैपूर्णिमामा ढोरबराह मेला लाग्दा उनले धेरै पाहुनालाई घोडा चढाएर ढोरपाटन लगेका छन् । 

ढोरबराह मेलामा जाने सयौंको आरक्षमा तथ्यांक राखिँदैन । घुम्ने लक्ष्यले गएकाहरुको मात्र तथ्यांक राखिएको आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले बताए । गत वर्ष यहाँ १५ हजार पर्यटक टिकट काटेर घुम्न गएको तथ्यांक छ । 

घोडाको काम धेरै छन् । मानिस चढाउने मात्र होइन, असार साउनमा उत्पादन हुने आलु र भदौ असोजमा स्याउ ढुवानीमा पनि घोडाको उपयोग गरिन्छ । सडक यातायातको सुविधा नपुग्दा ढोरपाटन र बुर्तिवाङका स्थानीयले पाल्पा, रिडी, तम्घास र बुटवलसम्म पुगेर घोडामा सामान ढुवानी गर्थे । त्यतिबेला घोडा पालेका किसानहरु समूहमा यात्रा गर्थे । धेरै सामान ल्याउन खच्चरको प्रयोग गरेपनि आफैं चढेर जाने आउनेहरुले घोडाको उपयोग गरेको विक बताउँछन् । 

विक पनि धेरै पटक खाद्यान र नुन लिनका लागि बुटवलसम्म घोडा चढेर पुगेका थिए । सवारी साधानको प्रयोग नआउन्जेल कार्यालय प्रमुखहरु घोडामा सवार गर्थे । सिकार आरक्षका वार्डेन लगायत पनि घोडा सवार गरेर ढोरपाटन पुग्थे । कैयौंपटक विकले हाकिलाई लगिदिएको अनुभव सुनाए । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीहरु घुम्न र अनुगमनमा जाँदा पनि घोडाको खोजी गर्थे ।

उनका छिमेकी मैतराम विक र टेककुमार विकले पनि नियमित घोडा स्याहार्दै आएका छन् । उनीहरुले पनि जिल्लाबाट जाने नेता, कर्मचारी र हिँड्न नसक्ने सर्वसाधारणलाई घोडामा ढोरपाटन लगिदिएको अनुभव सुनाए । स्थानीय २४ वर्षीया आशा अदैले पनि चार वर्षदेखि घोडा चढाउने व्यवसाय गरेकी छिन् । बाबुबाजेको दैनिकी देखेर उनले घोडा चढ्न सिकेको बताइन् । 

‘पढाईपछि रोजगारी पाइँदैन, बरु घोडाचढीको काम गरेर कमाई गरेकी छु’ उनले भनिन्, ‘महिलामा म मात्रै यो पेशामा छु ।’ उनले छिमेकी दाइ, काका लगायतको नाताको साथमा लागेर यो पेशामा आएको बताइन् । 

घोडा जन्मेको ३ वर्षपछि सानोसानो भारी बोक्न सक्ने हुन्छ । त्यसपछि सामान बोकाएर ‘दाउने’ काम सुरु गर्नुपर्छ । एकवर्ष दाएपछि चार वर्षको उमेरको घोडाले मान्छे बोकेर हिँड्न थाल्ने विकले बताए । ‘चार वर्षदेखि घोडाको उमेर २२ वर्ष पुग्दासम्म नियमित काममा लगाउन सकिन्छ’ विकले भने, ‘खानपान र समय मिलाएर काम गर्ने, आराम गराउँदा कुनै घोडाले २४ वर्षको उमेरसम्म नियमित काम लिन सकिन्छ ।’ 

चार वर्षको पुगेपछि घोडालाई खसी पार्नुपर्छ । ‘खसी नपार्ने हो भने घोडी देखेर चम्कन्छ (उफ्रेर दर्गुछ), चढेको मानिसलाई खसाल्न सक्छ’ विकले भने, ‘खसी पारेर केही दिन मिठोमिठो खान दिएपछि घोडाले भनेको मानेर काम गर्छ ।’ ढोरपाटनमा हिमाली जातको मध्यम घोडा पाइन्छ । स्थानीय केही किसानले घोडी गोठ नै बनाएका छन् । 

उनीहरुले घोडा दाउने बेला भएपछि बिक्री गर्छन् । आलु खेती गर्नेका लागि घोडाको गोबरमलसमेत उपयोगी भएको किसानले बताए । निरोगी घोडाका लागि नियमित खानपानमा ध्यान दिने, बेलाबेला स्वास्थ्य परीक्षण गराउने, चोटपटकबाट बचाउनुपर्ने विक बताउँछन् । ढोरपाटन उपत्यकामा ५० बढी घोडाचढी व्यवसायीहरु छन् । 

त्यसबाहेक आफ्नो दैनिक जीवनमा पनि घोडालाई काममा लगाउनेहरु सयौं छन् । मानिस बोकेर यात्रा गर्ने घोडालाई ५० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म मूल्य पर्छ । घोडाचढी व्यवसायीले चना, मकै र घाँस खुवाएर घोडा हुर्काउने गरेका छन् । बेलाबेला कमजोरीले बिरामी पर्ने भएकोले भिटामिन र तागत आउने औषधि खुवाउनुपर्छ भन्छन् भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटा । 

‘घोडाका लागि छाला सम्बन्धी रोगको उपचारको धेरै खोजी हुन्छ’ सापकोटाले भने, ‘बलियो बनाइराख्न भिटामिन पनि माग्नुभएको छ ।’ उत्पादन मुलक जनावरको क्षेत्रमा बढी काम गरेकोले घोडा तर्फ अस्पतालको कार्यक्रम नभएकोले आगामी वर्ष एउटा शिविर राख्ने योजना बनाएको सापकोटाले बताए । सवारी साधनको उपयोग बढेपछि घोडाको उपयोग घटेको उनले बताए ।

ढोरपाटन नगरपालिकाले घोडा व्यवसायीलाई करको दायरामा ल्याएको छ । ‘ढोरपाटन घोडा सञ्चालक समिति’मा आबद्ध भएका व्यवसायीले एउटा घोडाको वार्षिक ५ सय रुपैयाँ कर तिर्छन् भने घोडा दर्ता गरेका छन् । दर्ता भएको घोडाको रेकर्ड अद्यावधिक गर्ने काम पशुशाखाले गर्छ । 

स्थानीय टेककुमार विकको अध्यक्षतामा घोडा सञ्चालक समिति छ । समितिको सचिवमा डिलबहादुर विक र कोषाध्यक्षमा आशा अदै छन् । उनीहरु हरेक दिन बिहान एयरपोर्ट नजिक जम्मा भएपछि होटलमा बसेका पाहुना खोज्दै यात्रामा निस्कन्छन् । बेलुकी एकपटक भेला भएर दिनभरको कामको समीक्षासमेत गर्छन् । घोडामा आएको समस्या बारे पशुप्राविधिकलाई जानकारी समेत गराएको अदैले जानकारी दिइन् ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully