प्रदर्शनीमा भूकम्पको विज्ञान, म्याग्नेच्युड र भूकम्पको तीव्रता, विभिन्न उचाइका भवनहरुमा भूकम्पले पर्ने असर, तरलीकरण र भूकम्पकाबारेमा विद्यार्थीले थाहा पाए ।
पोखरा — ‘भूकम्प आउँदा होचो घरमा भन्दा अग्लो घरलाई धेरै क्षति पुर्याउँछ होला है ?’, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को आयोजनामा शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको भूकम्प सिकाई प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थीले जिज्ञासा राखे ।
नास्टका भूकम्पविद् डा.शिव सुवेदीले विद्यार्थीका जिज्ञासा मेटाए- ‘नेपालमा होचा घर बनायो भने भूकम्पबाट सुरक्षित भइन्छ, अग्ला घर सुरक्षित हुँदैन भन्ने बुझाइ छ । यसलाई विज्ञानले सही बुझाइ भन्दैन।' उनले थपे, ‘अग्ला घर मात्रै भत्किने वा होचा घरमात्रै भत्किने होइन । भूकम्पको तीव्रताअनुसार होचा घर पनि भत्किन सक्छन्, अग्ला घर नभत्किन पनि सक्छन् । मुख्य कुरा भूकम्प प्रतिरोधी छ कि छैन भन्ने हुन्छ ।’
नास्टले गोरखा भूकम्पको १० औं सम्झना दिवसको अवसरमा भूकम्प सिकाई प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा स्वदेशी र विदेशी वैज्ञानिक, भूकम्पविद्ले विद्यार्थीलाई भूकम्पबारे बुझाए ।
प्रदर्शनीमा राखिएका १४ स्टलमा विद्यार्थीले भूकम्पबारे जान्ने मौका पाए । प्रदर्शनीमा भूकम्पको विज्ञान, म्याग्नेच्युड र भूकम्पको तीव्रता, विभिन्न उचाइका भवनहरुमा भूकम्पले पर्ने असर, तरलीकरण र भूकम्पकाबारेमा विद्यार्थीले थाहा पाए।
भूकम्प जानुअघि, जाँदै गर्दा र गइसकेपछि के गर्नुपर्छ भन्नेबारे उनीहरुले बुझे । सिस्मोमिटर, वैज्ञानिकले भूकम्प नाप्ने तरिकाबारे भूकम्पविद्ले विद्यार्थीलाई जानकारी दिए । भूकम्प खेल र सुरक्षित भूकम्प अभ्यासमा उनीहरु रमाए ।
भूकम्प सचेतनासम्बन्धी भिडियो सामग्री हेरे । भूकम्पसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र भूकम्प सुरक्षा सम्बन्धी चित्रकला प्रतियोगिता विद्यार्थीहरु सहभागी भए । पोखराका विभिन्न विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनको अवलोकन गरे।
स्वीजरल्यान्डबाट भूकम्प प्रविधिमा विद्यावारिधी गरेका भूकम्पविद् सुवेदीका अनुसार जापानमा हरेक महिना विद्यार्थीलाई भूकम्पबाट सुरक्षित रहने अभ्यास गराइन्छ । नेपालमा पनि विद्यार्थीलाई सचेत बनाउँदा अभिभावक र समाजसम्म त्यस्तो सचेतना पुग्ने भएकोले सिकाइ प्रदर्शनी आयोजना गरेको उनले बताए ।
उनले भने, ‘विद्यार्थी आफै सहभागी भएर ज्ञान बढोस् र भोलि जान सक्ने भूकम्पमा सुरक्षित रहने तयारी गर्न सकुन् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।’ नास्टका प्रविधि संकाय प्रमुख एवं मुख्य प्राविधिक अधिकृत डा.सुरेशकुमार ढुंगाना भूकम्प आफैले धेरै क्षति पुर्याउने नभइ मानवनिर्मित संरचना कमजोर भइदिँदा धेरै क्षति हुने बताए।
भूकम्पले पार्ने असर ठाउँ विशेष, संरचना विशेष र सचेतनामा पनि भर पर्ने उनको भनाइ थियो । ‘सबैभन्दा महत्त्वपूर्ण समय विशेषमा पनि भर पर्छ,’ उनले भने, ‘हामी सुतिरहेको समयमा आयो कि हामी जागा भएर बाहिर निस्किएको बेलामा पो आयो कि ! जनचेतना धेरै नहुँदा धेरै क्षति हुने हो । भूकम्प आउँदा घरभित्र बस्ने कि घर बाहिर आउने ? कस्तो ठाउँमा गएर बस्ने ? यो कुरा थाहा नपाउँदा क्षति धेरै हुने हो । भूकम्पले मान्छे मार्छ भन्दा पनि भूकम्पलाई प्रतिरोध गर्न नसक्ने संरचनाले मान्छे धेरै मर्ने हुन् ।’
०७२ को भूकम्पको चिरा बारपाकबाट सुरु भएर पूर्वतिर लागेको र पश्चिमतर्फ लामो समयदेखि ठूलो भूकम्प नगएकोले त्यो चिरा पश्चिमतिर लाग्ने सुरुवाती स्थान पोखरा हुन सक्ने धेरै भूगर्भविद्को अनुमान रहेको उनले सुनाए ।
‘बारपाकबाट सुरु भएकोलाई आधारविन्दु मान्ने हो भने त्यहाँभन्दा पश्चिमपट्टि ठूलो क्षति पोखरामा भएन,’ उनले भने, ‘पश्चिमतिर जाने भूकम्प त्यही चिरासँग जोडियो भने पोखरामा अलि ठूलो क्षति हुन सक्छ भन्ने अनुमान हो । यद्यपि, भूकम्प कहिले आउँछ भनेर भविष्यवाणी गर्न सक्दैनौं तर पनि हामी भूकम्प सक्रिय भइरहने क्षेत्रमा भएकोले सुरक्षित रहने उपायमा सचेत हुनुपर्छ ।’
ठूलो भूकम्प आउँदा पनि हाम्रा संरचना प्रभावित नबन्ने खालको बन्नुपर्छ भन्ने चेतनाको प्रसार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए । ‘अहिले नै यति म्याग्निच्युडको भूकम्प आउँदा यति क्षति हुन्छ भनेर भन्न सक्ने अवस्था हुँदैन,’ उनले भने, ‘तथापि सबैले पत्याएको कुरा के हो भने भूकम्पको उच्च जोखिम भएको देशमा नेपाल पर्छ, हिमालय क्षेत्र पर्छ, त्यसमा पनि ठूलै भूकम्प जान सक्छ । तर कहिले भनेर कसैले भन्न सक्दैन ।’
एउटै म्याग्निच्युडको भूकम्प दुई फरक देशमा जाँदा विकसित मुलुकमा कम क्षति हुने र अविकसित देशमा त्यसले ठूलो क्षति पुर्याउने देखिएको बताउँदै उनले नेपालका भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिए ।
