बागलुङ — गत आर्थिक वर्ष बागलुङमा ६२ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । यो तथ्यांक हरेक वर्ष बढ्दो छ ।
२०७८/०७९ मा ४४ जनाले आत्महत्या गरेकामा २०७९/०८० मा बढेर ५३ पुगेको थियो । चालु वर्षको चैत मसान्तसम्म ४३ जनाले आत्महत्या गरिसकेका छन् ।
यो तथ्यांक डरलाग्दो बन्दै गएको प्रहरी निरीक्षक सुनील चिलवाल बताउँछन् । उनले गरेको अध्ययनमा आत्महत्या गर्नेमा १८ वर्षमुनिका ११ जना छन् भने २५ वर्षमुनिका २० जना छन् । अधिकांश ४५ वर्षभित्रका छन् । ‘उत्पादनमूलक काममा लाग्नुपर्नेहरुले नै आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘सानो समस्यामै आत्महत्यामा पुग्नेहरु बढी छन् ।’ युवालाई नै यस्ता घटनाबाट बचाउनुपर्ने आवश्यकता देखिएको उनले बताए ।
सामान्य आर्थिक संकट बेहोरेकादेखि प्रेममा परेकाहरु यस्तो घटनामा बढी संलग्न छन् । पछिल्लो समय मानसिक स्वास्थ्थबारे सचेतना अभावले पनि धेरैजनाले ज्यान फालेको देखिएकोले मानसिक सचेतना तथा पैरवी अभियान चलाउन सुरु गरेको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । ‘हामीले सर्ने र नसर्ने रोगको धेरै उपचार र काउन्सिलिङ गर्यौं तर मानसिक स्वास्थ्य जटिल बनेर आएको छ,’ घिमिरेले भने, ‘विद्यालय उमेरदेखि नै मानसिक स्वास्थ्यबारे ख्याल नगरे युवा मृत्युको मुखमा पुग्ने अवस्था आयो ।’ एक सदस्यको मृत्युले परिवारका अन्य सबै सदस्यमा आउने नैराश्यले पनि थप जोखिम निम्त्याउने उनी बताउँछन् ।
आत्महत्या बढ्नुमा गर्भावस्थामा शिशुले पाउने स्याहार र समाजको रहनसहनमा भरपर्ने धौलागिरि आयुर्वेद अस्पतालका डा. सरोज पन्थीले बताए । ‘आत्महत्या रोग होइन, तर उसको पारिवारिक अवस्था र संगतको फल हो,’ उनले भने, ‘पाचन प्रणाली कमजोर भएमा पनि दिमागमा नकारfत्मक हर्मोन उत्पादन भएर मर्ने सोचमा मानिस पुग्छन् ।’ अस्पतालले व्यायाम, योग र खानपानमा सुधार ल्याउने अभियान चलाएको उनले बताए ।
स्वास्थ्य कार्यालयले त वडा र पालिका तहमा मानसिक सचेतना तथा पैरवी कार्यक्रम नै चलाउने निधो गरेको छ । चालु वर्ष एकै वडामा चारजनाले आत्महत्या गरेको बागलुङ नगरपालिका-४ मा पहिलो पटक सचेतना र पैरवी कार्यक्रमसमेत सम्पन्न गरेको घिमिरेले बताए । वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक प्रहरी, नागरिक अगुवा समेतलाई सचेतना अभियानमा जोडिएका छन् । उनीहरुले विद्यालय तहमा पुगेर सचेतना कार्यक्रम चलाउनेछन् । हरेक विद्यालयका कक्षा ८ देखि १२ सम्मका बालबालिकामा समेत आत्महत्या निरुत्साहित गर्ने कार्यक्रम लैजाने घिमिरेले जानकारी दिए ।
अघिल्लो महिना बागलुङमै १२ र १४ वर्षका बालकले पनि आत्महत्या गरेका थिए । खेल्दाखेल्दै कोठाभित्र पसेका ती बालक मृत भेटिएका थिए । ‘यसअघि १४ वर्ष काटेकाहरु मात्र आत्महत्यामा संलग्न थिए, अहिले १२ वर्षका पनि भेटियो,’ बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भने, ‘पत्याउनै नसक्ने गरी बालबालिकाले मृत्युको बाटो रोजेका छन् ।’ विद्यालय तहबाटै आशा जगाउने खालका कार्यक्रम गरेर घटनाको न्यूनीकरण गराउनुपर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा बताउँछिन् ।
