बागलुङ — पाँच वर्षअघि करिब ११ करोड खर्चिएर निर्माण भएको बागलुङ बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । बागलुङ नगरपालिका वडा नं ४ को उपल्लाचौरमा गत असोजमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्क उद्घाटन गरे पनि यहाँ नियमित बस जाँदैनन् ।
पहुँच सडक साँघुरो भएको कारण देखाएर व्यवसायीले बसपार्कमा सवारी लिएका छैनन् । विस्थापित गर्न लागिएको चिप्लेटी बसपार्कमै बसहरुको लर्को लाग्छ । एक/दुई गाडि चार्ज गर्न र केही दिन नचल्ने भएमा मात्रै छिटपुट गाडी बसपार्क पुग्छन् । यहाँ खानेपानी, बस्ने होटल र रेष्टुरेन्टसमेत नभएको बाहनामा व्यवसायीले पुरानै स्थान र सडक छेउमा बस पार्किङ गरेर राख्छन् । यहाँका दुईवटा साझा बससमेत सडकमै भेटिन्छन् ।
नगर विकास कोषबाट ल्याएको ऋणबाट बनेको बसपार्क चल्न नसके पनि हरेक वर्ष ८७ लाख ब्याज नगरपालिकाले कोषलाई तिर्दै आएको छ । चैत मसान्तसम्ममा सबै योजनाहरुको ४५ प्रतिशत प्रगति भइरहेको देखिँदा ऋण भने शतप्रतिशत तिरिसकिएको छ । यो ऋण तिर्न थालेको दशक बितिसकेको छ । बसपार्क भने सञ्चालन नभएपछि नगरको आम्दानी छैन ।
साँवा ब्याज नियमित तिर्दा नगरको विकास बजेटमा असर परेको छ । ‘ऋण तिर्न नपर्ने भए त्यो रकम अरु काममा प्रयोग गर्न सकिन्थ्यो,’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘चाहेर पनि कतिपय अत्यावश्यक योजनामा बजेट राख्न सकिएको छैन ।’ ऋणमा खर्चनु परेकोले खानेपानीको हाहाकार भएको वडा नं ८ को लामीचौरमासमेत धारा निर्माणमा लगानी बढाउन नसकेको उनले बताए ।
हाल यहाँ जमिनमुनिको पानी तानेर खुवाइएको छ । वितरणमा २ सय १९ धारा तथा ६ वटा ट्यांकी बनाउने काम बजेट अभावमा अगाडि बढ्न नसकेको उनको भनाइ छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यले २०७५ सालमा ३१ करोड लागतमा निर्माणाधीन बागलुङ नगर खानेपानी आयोजना पनि अझै सकिएको छैन । नगरपालिका नै जमानत बसेर कोषबाट लिएको ऋणको भारीले नगर खानेपानी उपभोक्ता संस्था थला परेको छ ।
संस्थाले वार्षिक ८० लाख रुपैयाँ उक्त आयोजनाको साँवा ब्याज भुक्तानी गर्छ । खानेपानीको महसुल उठ्ने रकम भन्दा बढी ऋण तिर्दैमा सकिएको उपभोक्ता समितिका कावा अध्यक्ष हरिबहादुर जिसीले बताए ।
नगरपालिकाकै २ करोड ३६ लाख लगानीमा वडा नं ४ मै निर्माण गरेको वृद्धाश्रम पनि सञ्चालनमा ल्याउन सकेको छैन । जंगेश्वर महादेव गुठीको ५ रोपनी जमिनमा बनेको आश्रम आसपासमा झार उम्रेको छ । २०७० पुसमा काम थालेर २०८० असारमा निर्माण सकिएको घर रित्तै छ । ‘हाल आश्रमको खोजीमा कोही आएका छैनन्,’ नगरप्रमुख श्रेष्ठले भने, ‘ठूलो खर्च गरेर अलपत्र भएको छ, अन्य उपयोगका लागि सोच्दैछौं ।’ अघिल्लो कार्यकालले ठेक्कामा लगाएकोले आफ्नो योजना नभएको उनले बताए ।
हाल उक्त आश्रमसँगै झण्डै ५ करोड लागतमा मानवसेवा आश्रम निर्माणाधीन छ । आश्रमले १ सयजना अभिभावक विहीन नागरिकलाई राख्ने लक्ष्य बनाएको सञ्चालक लक्ष्मी बास्कोटाले बताइन् । हाल आश्रम बजारकै निजी घरमा सञ्चालित छ ।
२०७८ को बैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा कालोपत्रे बनेको बलेवा विमानस्थल पनि अलपत्र छ । यहाँ जहाज चल्ने अझै निश्चित भएको छैन । बलेवा विमानस्थलको काम हेर्ने पोखरा विमानस्थललाई पनि यो बारे जानकारी नै छैन । जहाज पठाउने/नपठाउने अधिकार केन्द्रीय कार्यालय र महानिर्देशकमा निहित भएकोले पोखराका कर्मचारीले केही बताउन सकेनन् ।
२०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले श्रमदान गरेर यो विमानस्थल बनाएका थिए । कच्ची मैदानमा २०५१ सम्म जहाज आएको थियो । जहाज चलाउन कालोपत्रे गरिएको मैदान अहिले जीर्ण बन्दैछ ।
