गोरखा — उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र २ लाख ८० हजार ८ सय ४० रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका गण्डकी गाउँपालिका–१ का ईश्वर घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ फागुन ११ को अदालतको फेसलाले उनलाई कैद र जरिवानासहित पीडित राहत कोषमा ११ हजार ई सय ३३ रुपैयाँ ७६ पैसा जम्मा गर्नुपर्ने ठहर गरेको थियो ।
घिमिरेलाई मंगलबार जिल्ला अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए । अदालतको आदेशले घिमिरेलाई कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय गोरखा पठाइएको छ ।
जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेको प्रतिवादी पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले फैसला कार्यान्वयन विशेष टोली गठन गरी परिचालन गरेको छ ।
वैशाखमा मात्र ७ जना फरार अभियुक्त पक्राउ गरिएको शर्माले बताए । ७ जनाबाट १ महिना ५ दिन कैद र ८ लाख ३७ हजार २ सय ७५ हजार रुपैयाँ जरिवाना असुलउपर भएको पनि उनले बताए ।
