कास्की — आफूलाई नेपाल प्रहरीको डीएसपी भनेर पोखराको एउटा रेस्टुरेन्टको बिल नतिर्ने व्यक्ति पक्राउ परेका छन् । बागलुङ नगरपालिका–४ कुँडुलेफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल आइतबार राति पोखरा महानगरपालिका–८ सिर्जनाचोकबाट पक्राउ परेका हुन् ।
उनले सिर्जनाचोककै रेस्टुरेन्टमा अर्डरअनुसारको खानेकुरा खाएपछि काउन्टरका कर्मचारीलाई अभद्र व्यवहार र अपशब्द प्रयोग गरेका थिए । मदिरा पिएका उनले आफू डीएसपी भएको र बिल नतिर्ने बताएपछि सञ्चालकले प्रहरीलाई खबर गरे लगत्तै वडा प्रहरी कार्यालय बैदामको टोलीले पौडेललाई पक्राउ गरेको हो ।
उनीमाथि अनुसन्धानका लागि अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सोमबार १० दिन म्याद थप भएको छ ।
